पेरुसँग हार्‍यो कोलम्बिया, भेनेजुएला र इक्वेडरले बराबरी खेले

एजेन्सी । कोपा अमेरिका अन्तर्गत समूह चरणको खेलमा पेरुले पहिलो जित हासिल गरेको छ । समूह बी को आफ्नो पहिलो खेलमा साविक विजेता ब्राजिलसँग ४-० ले स्तब्ध भएको पेरुले आज विहान भएको खेलमा कोलम्बियालाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

१७ औं मिनेटमा सर्जियो पेनाले गोल गरी पेरुलाई पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । दोस्रो हाफको सुरुमै कोलम्बियाले पेनाल्टी अवसर पायो । मिगुल बोर्जाले गोल गरी खेल बराबरीमा ल्याए ।

तर ६४ औं मिनेटमा कोलम्बियाली स्टार डिफेण्डर यारी मिनाले आत्मघाती गोल गर्न पुगेपछि कोलम्बियाले अप्रत्यासित हार ब्यहोरेको हो । कोलम्बियाले समूहको आफ्नो पहिलो खेलमा इक्वेडरलाई हराएको थियो भने दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरी खेलेको थियो ।

समूह बी अन्तर्गत नै आज विहान सम्पन्न अर्को खेलमा समूहको पछारमा रहेका दुई टोलीहरु भेनेजुएला र इक्वेडरले २–२ गोलको बराबरी खेले । समूहको पहिलो खेलमा ब्राजिलसँग हारेको भेनेजुएलाले त्यसयता लगातार दोस्रो बराबरी खेलेको । कोलम्बियासँग पहिलो खेल हारेको इक्वेडरले भने पहिलो अंक जोडेको छ ।

रियो दि जेनेरियो रंगशालामा दुईपल्ट अग्रता लिएर पनि भेनेजुएलाले ३ अंक जोड्न सकेन । ३९ औं मिनेटमा इडोर प्रेसियाडोले गोल गरेपछि पहिलो हाफ भेनेजुएलाले अग्रता बनायो ।

५१ औं मिनेटमा एडसन क्यास्टिल्लोले बराबरी गोल फर्काए । ७१ औं मिनेटमा गोल्जालो प्लाटाले पुनः भेनेजुएलालाई अग्रता दिलाएका थिए । तर खेलको इन्जूरी समयमा भेनेजुएला संहालिन नसक्दा खेल बराबरीमा पुग्यो । इक्वेडरका रोनाल्ड हर्नान्डेजले गोल गरेपछि इक्वेडरले महत्वपूर्ण १ अंक लिन सक्यो ।

कोपा अमेरिकामा भोलि विहान समूह ए अन्तर्गतका दुई खेलहरु हुनेछन् । विहान पौने ३ देखि सुरु हुने खेलमा उरुग्वे र चिली आमने सामने हुँदैछन् भने पौने ६ बजेदेखि सुरु हुने दोस्रो खेलमा पाराग्वेले अर्जेन्टिनाको सामना गर्नेछ ।

७,असार.२०७८,सोमबार ०८:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्