मेलम्ची बाढीपीडितका लागि खटेका थिए, धर्मराज दुलाल ११ हजार भोल्टको करेन्ट लागेर गुमाए ज्यान

काठमाडौ । काठमाडौ मेलम्ची खोलाले कटान गरेर पोल ढाल्दा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय धर्मराज दुलालको घटनास्थलमै मृत्यु भएको छ।

मेलम्ची खोलामा आएको बाढीले घरजग्गा कटान गरेपछि बाँध लगाउन एक्साभेटर लिन गएका दुलाललाई सोमबार बिहान ११ बजे करेन्ट लागेको हो।

मेलम्ची नगरपालिका वडा नम्बर १० स्थित बगरमा हिँडिराखेका दुलालको हातमा करेन्ट लागेको स्थानीय बासिन्दाले जनाएका छन्।

मेलम्चीले कटान गरेर विद्युतको पोल ढालेको र उनको हातमा ११ हजार भोल्टको करेन्ट लागेको थियो।

‘विद्युतको पोल ढलेर उहाँलाई करेन्ट लागेको खबर आएको छ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले भने, ‘उहाँको घटनास्थलमै मृत्यु भएको छ।’

स्थानीय बासिन्दासँग छलफल गरेपछि शव पोस्टमार्टम गरिने उनले बताए। मेलम्चीमै पोस्टमार्टम गर्ने तयारी रहेको उनको भनाइ छ।

दुलाल मेलम्ची बजारमा तरकारी पसल चलाउँदै आएका थिए। गत मंगलबार मेलम्चीमा आएको बाढीले उनको जग्गा पनि बगाएको छ।

उनी बाढीपीडितको उद्धार र राहतलगायत काममा व्यस्त रहेका थिए।

‘आज पनि उहाँ मेलम्चीले जग्गा कटान गरेपछि बाँध राख्नुपर्छ भनेर एक्साभेटर बोलाउन जानुभएको थियो। बाटोमै करेन्ट लागेर मृत्यु भयो,’ घटनास्थलमा रहेका पत्रकार आदित्य दाहालले भने, ‘उहाँको देब्रे हातमा करेन्ट लागेको छ।’

बाढीले प्रभाव पारेका क्षेत्रमा धरापमा रहेका पोलमा पनि विद्युत छाडेको भन्दै स्थानीय बासिन्दाले नेपाल विद्युत प्राधिकरणको कमजोरी रहेको बताएका छन्।

दुलालका श्रीमती, एक छोरा र एक छोरी छन्।

७,असार.२०७८,सोमबार १२:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्