धेरै समय पछि खुकुलो भयो निषेधाज्ञा, ट्राफिकले मुख्य सडक छेक्दा काठमाडौंमा जाम

काठमाडौ । काठमाडौ मंगलबारदेखि निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंका सडकमा सवारीसाधनको आवागमन बढेको छ।

तर ट्राफिक प्रहरीले धराप थापेर मुख्य सडक नै छेक्दा जाम बढेको छ।

ट्राफिकले मुख्य मुख्य सडकमै धराप ब्यारिकेड्स राखेर चेकजाँच गर्दा सर्वसाधारणले दुख पाएका छन्।

ट्राफिक प्रहरीले रिङरोड क्षेत्रको बालकुमारीमा टायर राखेर सडक छेकेको छ। आवागमन सहज गरिदिनुको सट्टा प्रहरीले मुख्य सडक नै अवरूद्ध पार्दा मंगलबार राजधानीका सडकहरू अस्तव्यस्त देखिएका छन्।

प्रदर्शनी मार्ग, रामशाहपथ, कोटेश्वर, जावलाखेल चोकजस्ता भिडभाड हुने क्षेत्रमा ट्राफिक प्रहरीले बाटो छेकेको छ।

यस्तो अवैज्ञानिक चेकिङ प्रणाली तुरुन्तै त्याग्नुपर्ने पूर्वडिआइजी केशव अधिकारीले बताए। उनले ट्राफिक प्रहरीले द्वन्द्वकालीन शैलीमा सडकमा धराप राख्ने गरेको बताए।

उनका अनुसार अहिले लकडाउनकै मानसिकतामा प्रहरीले ड्युटी गरिरहेको छ, त्यसले सडक सुशासन कायम राख्न सक्दैन।

‘लामो समय घरमा बसेर मानिसहरूलाई उकुसमुकुस भएको थियो, निषेधाज्ञा खुकुलो भएपछि मानिसहरू निस्केका छन्, तर सडकमा सवारीसाधन अनुपातको ट्राफिक जनशक्ति देखिँदैन, अधिकारीले भने, ‘यो बेला ७५ प्रतिशत जनशक्ति सडकमा निस्किनुपर्थ्यो, त्यो छैन। सडक सुशासनको थिति नबसालेसम्म अस्तव्यस्त कायमै छ।

अधिकारीका अनुसार एउटा सम्पन्न घरमा दुईदेखि पाँच वटासम्म गाडी छन्, मोटरसाइकलको कुरै नगरौं।

यस्तो अवस्थामा जोरबिजोर अक्षरशस्लागू हुन सक्दैन। रोडको डिजाइन हेर्नुस्, एउटा गाडी निस्कियो भने जुन ठाउँमा पुग्नुपर्ने हो त्यो ठाउँमा पुग्ने १० वटा चोर बाटो छन्। ती चोर बाटोमा सिसिटिभी छैन, अधिकारीले भने।

उनका अनुसार सरकारले ट्राफिकलाई स्रोतसाधन उपलब्ध गराएको छैन। आइटीले समेत सपोर्ट नगरिरहेको अवस्थामा सडकमा रहेका यस्ता विकृति रोक्न जनशक्ति चाहिन्छ।

‘आजभन्दा १०,१२ वर्षअघि आयोग गठन भएको थियो। आयोगले त्यो बेला नै ट्राफिकको जनशक्ति चार देखि पाँच हजार थप गर्नुपर्छ भनेको थियो, अधिकारीको प्रश्न छ, ? ‘हालसम्म त्यो भएको छैन। तपाईं कहाँ कहाँ चेक गर्नुहुन्छ ? मौरी रानोबाट छुटेजस्तो निस्किन्छन् मोटरसाइकल, कहाँ रोक्नुहुन्छ?’

ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले भने सडकमा सबै ट्राफिक जनशक्ति खटाउँदा पनि सडक अस्तव्यस्त देखिएको बताए।

‘अहिले साढे २४ सय जनशक्ति छ, त्यो सबै खटिएको छ,’ उनले बताए ।

पार्किङमा राखेर चेकजाँच गर्ने ठाउँ नभएकाले पनि सडकमा ब्यारिकेड्स राखेर चेकिङ गर्नुपरेको उनले बताए।

उनका अनुसार अहिले राजधानीमा १६ लाख गाडी छन्। तीमध्ये करिब तीन चार लाख निस्केका छन्।

बाटोमा चेकिङ गर्नु हाम्रो रहर होइन, निस्केका सवारीसाधनलाई व्यवस्थापन गर्नुपर्‍यो, उनले बताए ।

८,असार.२०७८,मंगलवार ११:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्