विभिन्न आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बाको हत्या

काठमाडौं । विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको हत्या भएको छ ।

प्रहरीले उनको शव बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि गरेका छन ।

‘टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको देखिएको छ,’ उनले भने, ‘अनुहार क्षतविक्षत भएको छ ।’ उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार घटनालगत्तै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट फरेन्सिक विज्ञसहितको टोली बोलाएर जाँच गरिएको थियो ।

दक्षिणकाली मन्दिर परिसर जंगलमा हत्या गरिएकी युवती कालोपुलमा बसोबास गरिरहेका धनबहादुर तामाङकी धर्मछोरी भएको पत्ता लागेको छ।

महानगरीय अपराध महाशाखाका अनुसार उनी सन्तोषी सुब्बा हुन्। उनी २७ वर्षकी रहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए।

सन्तोषीलाई तामाङले सानै उमेरदेखि धर्मछोरी बनाएर राखेको पाइएको छ। तामाङ काठमाडौं ७ कालोपुलस्थित गुरूङटोलमा बस्छन्। तामाङ ज्याला मजदुरी गर्छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतका अनुसार उनी असार ५ गते फर्पिङस्थित पद्मा सम्भव गेष्ट हाउसमा एक्लै बसेको देखिएको छ।

त्यसदिन उनले बुवा धनबहादुरलाई फोन गरी ६ गते घर आउँछु भनेकी थिइन्।

‘फर्पिङबाट दक्षिणकालीसम्म एक्लै गएको देखिएको छ,’ ती अनुसन्धान अधिकृतले भने।

सन्तोषी चराचुरूङ्गी तथा जीवजन्तुको आवाज दुरूस्तै निकालेर दुनियाँलाई चकित पार्थिन्।

उनको कलाले धेरैलाई लोभ्याउँथ्यो। युट्युबमा उनले त्यस्तो कला देखाएर धेरैलाई आफ्नो परिचय दिँदा सानो उमेरमा हराएको र तामाङकहाँ धर्मछोरी बसेको बताउने गरेकी थिइन्।

तामाङले पनि सानै उमेरदेखि आफूले सुब्बालाई धर्मछोरी राखेको बताएका छन्।

‘उनले धेरै पशुपन्छीको आवाज निकाल्न जान्दथिन् भन्ने पत्ता लागेको छ,’ पंगेनीले भने, ‘हत्या रहस्यमय रहेको बुझिन्छ, हामी अपराधीको खोजी गरिरहेका छौं।’

मंगलबार बिहान सन्तोषीको शव दक्षिणकाली मन्दिर परिसरको एउटा प्रयोगविहीन शौचालयमा भेटिएको थियो। च्याउ टिप्न गएका दुई महिलाले शौचालयमा शव देखेका थिए।

सन्तोषीको सलले घाँटी कसेर हत्या गरी ढुंगाले हिर्काएर अनुहार क्षतविक्षत पारिएको छ।

फरेन्सिक चिकित्सकले उनको धेरै दाँतहरू नरहेको अनुसन्धानबाट पत्ता लगाएका थिए।

खासमा उनको माथिल्लोपट्टीका धेरै दाँत थिएनन्। यसैका आधारमा र धनबहादुरको वयानले पनि सन्तोषीको परिचान यकिन गरिएको पंगेनीले बताए।

उनको हत्या कसले र किन गर्‍यो भन्ने अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ।

उनी फर्पिङसम्म कसरी पुगिन्, त्यहाँबाट दक्षिणकाली किन गइन् भन्ने प्रश्नहरू अहिले अनुत्तरित छन्।

‘सन्तोषीले बोक्ने गरेको मोबाइल नम्बर पत्ता लागेको छ, उनलाई आउने फोन र उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरू अहिले अनुसन्धानमा छन्,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘हत्या गर्ने व्यक्ति पत्ता लगाउन हाम्रो टोली सक्रिय रूपमा खटिएको छ।’

उनको पेट सुन्निएको थियो, गर्भवती रहेको आशंका गरिएको थियो। तर, पोस्टमार्टममा त्यो नदेखिएको प्रहरी उपरीक्षक पंगेनीले बताए।

‘उनलाई क्रुर ढंगले शरीरभरि प्रहार गरिएको पोस्टमार्टममा देखिएको कुरा आएको छ,’ पंगेनीले भने।

सन्तोषीलाई पेटमा निकै साह्रो हिर्काएको पाइएको छ। उनका करङ भाँचिएका छन्। घाँटी बेस्सरी कसेको पाइएको छ।

‘उनलाई क्रुर ढंगले हत्या गरिएकाले यसमा कुनै व्यक्तिले योजनावद्ध रूपमै त्यहाँ बोलाएर लगी हत्या गरेको बुझ्न सकिन्छ,’ पंगेनीले भने।

त्रिवि शिषण अस्पतालको फरेन्सिक टोलीले सन्तोषीको पोस्टमार्टम सकिएको छ।

सन्तोषीको भजाइनल स्वाब संकलन गरिएको छ। यसबाट उनको बलात्कार भए नभएको खुल्ने छ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सक गोपाल चौधरीका अनुसार सुरूमा उनको घाँटी कसेर हत्या गरिएको देखिएको छ। त्यसपछि अनुहार नचिनियोस् भनी ढुंगाले क्षतविक्षत पारिएको छ।

उनको दाहिने छातीतर्फका दुई वटा करङ भाँचिएका छन्। पेटमा बेस्सरी हिर्काएकाले आन्द्रा सुन्निएका छन्।

उनी मृत शरीरमा टु पिस लुगा थियो। उनको भित्री वस्त्र पेन्टी घटनास्थलबाट केही टाढा फालिएको थियो। घटनास्थलमा छोरा मान्छेले लगाउने पेन्टी फेला परेको थियो।

९,असार.२०७८,बुधबार १३:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्