खुल्यो जीवन विकास लघुवित्तको आइपिओ, प्रतिसेयर आम्दानी नै १ सय रुपैयाँभन्दा बढी

काठमाडौं । प्रतिसेयर आम्दानी नै १ सय रुपैयाँभन्दा धेरै भएको जीवन विकास लघुवित्तको प्राथमिक सेयर (आइपिओ) खुलेको छ।

कम्पनीको आइपिओमा छिटोमा असार १५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले अंकित मूल्य १ सयका दरले कुल १९ लाख ७७ हजार ३ सय कित्ता सर्वसाधारण सेयर निष्कासन गर्न लागेको हो।

जसमध्ये ३० हजार ४२० कित्ता सेयर कर्मचारीलाई र ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरिनेछ।

कम्पनीको आइपिओमा न्यूनतम १० र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त यस संस्थाले आइपिओ निश्कासनका लागि इक्रा नेपालबाट ‘बीबीबी माइनस’ रेटिङ प्राप्त गरेको छ। यसले कम्पनी सुरक्षित रहेको जनाउँछ।

कम्पनीको वित्तीय स्थिति अरु लघुवित्तको तुलनामा मजबुत देखिएको छ। आव २०७६-७७ सम्म कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा छ।

त्यस्तै प्रतिसेयर नेटवर्थ नै ३०७ रुपैयाँ छ। यहीं स्तरको लघुवित्तको मूल्य बजारमा प्रतिकित्ता ४ हजार रुपैयाँको आसपासमा छ। कम्पनीको सञ्चित नाफा नै ३५ करोड ४२ लाख रुपैयाँ छ। कम्पनीको निष्क्रिय कर्जा चैत मसान्तसम्म ०.६० प्रतिशत छ।

मोरङको कटहरीम प्रधान कार्यालय रहेको कम्पनीको देशभर १३८ स्थानमा शाखा तथा उपशाखा कार्यालय संचालनमा छ।

कम्पनीको बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय वा सिडिएससीको मेरो सेयर एप÷वेबमार्फत कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।

योपछि मनकामना स्मार्ट लघुवित्तको प्राथमिक सेयर असार १७ गतेदेखि खुल्ने भएको छ। लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको यस लघुवित्तको प्रधान कार्यालय भैरहवामा छ।

कम्पनीको आइपिओमा छिटोमा असार २१ गतेसम्म बिक्री खुल्ला हुनेछ। कम्पनीले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुने कुल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

जसमध्ये ६ हजार ५८ कर्मचारीका लागि र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको आइपिओलाई इक्रा नेपालले डबल बी माइनस रेटिङ प्रदान गरेको छ।

११,असार.२०७८,शुक्रबार १०:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्