३ लाख ७० हजारलाई लगाउने तयारी, असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइने

काठमाडौं । चीनले पछिल्लोपटक उपलब्ध गराएको (कोभिड १९) विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई असार २२ गतेबाट दोस्रो डोज लगाइने भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो ।

स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ । खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो डोज लगाएका तीन लाख ७० हजार जनालाई असार २२ गतेबाट दोस्रो डोज लगाइने तय भएको जनाए ।

अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उनले बताए ।
उनले भने, यसअघि भेरोसेलको पहिलो डोज लगाएकाले पहिलो मात्रा लगाएको कार्ड देखाएर दोस्रो डोज लगाउन पाउने छन् ।

पछिल्लो पटक ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको उनले जनाए ।

११,असार.२०७८,शुक्रबार १२:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्