प्रदेश अस्पतालले दिएन ‘कोरोना जोखिम भत्ता’, अस्पतालका १३ चिकित्सकले भत्ता नपाएको गुनासो

सुर्खेत । कारोना संक्रमितको उपचारमा सक्रिय कर्णाली प्रदेश अस्पतालका १३ चिकित्सकले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । उनीहरुले अस्पतालमा काम गर्ने वातावरण नभएको र जोखिम भत्ता पनि नपाएको कारण देखाउँदै अस्पताल छाड्नसक्ने संकेत गरेका छन् ।

‘चालिस जना मेडिकल अफिसरले गर्ने काम १३ जनाले गर्दै आइरहेका थियौं । अस्पताल प्रशासनले हामीले कामै नगर्ने गरेको आरोप लगाइरहेको छ’, अस्पतालमा कार्यरत एक चिकित्सकले भने’, ‘यहाँ कार्यरत तीन डाक्टरले सरुवा अनुमति लिइसकेका छन्, असार मसान्तपछि हामी पनि यहाँ रहन्नौं होला ।’

अस्पताल प्रशासनले डाक्टरको भावना नबुझेरको र जोखिम भत्ता पनि नपाएको उनीहरुको गुनासो छ । ‘स्थायी डाक्टरभन्दा हामी बढी खटेका छौं, तर पोहोर असारदेखि जोखिम भत्ता पनि पाएका छैनौं’, उनले भने, ‘सरकारले दिएको पैसा दिन पनि प्रशासनले आफैंले दिनु परेजस्तो गर्छ । यस्तो स्थितिमा कसरी काम गर्नु ?’

दिनरात नभनी साताको चालिस घण्टा संक्रमितको उपचारमा खटिएको उनीहरुको भनाइए छ । ‘अहिले त पहिला दिँदै आएको सेवा पनि झन् घटाएको छ’, एक चिकित्सकले भने, ‘प्रदेश सरकार पनि हामीलाई प्रोत्साहन गर्नभन्दा खुइल्याउन लागि परेको छ ।’

कर्णाली प्रदेश सरकारले भने कोरोनाकालमा काम गर्ने सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिइसकेको बताएको छ ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काले भने आफू अस्पताललाई राम्रो बनाउने अभियानमा लागेको बताउँदै तीन दिन काम गर्नेलाई सात दिनको भत्ता दिन नसक्ने बताउँछन् । ‘उहाँहरु हप्तामा एक दिन आएर ६ दिनको तलब मागिरहनु भएको छ’, उनी भन्छन्, ‘नियमसंगत पाउने रकम पाउनु भएको छ, त्योभन्दा बढी संभव छैन ।’

१३,असार.२०७८,आईतवार १३:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्