
संखुवासभा। संखुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो आयोजनामा कुटपिटबाट घाइते भएका मजदूरको उपचारको क्रममा मृत्यु भएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएका कालिकोटको तिलागुफा नगरपालिका ४ का ३८ वर्षीय बसन्त शाहीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले जानकारी दिए ।
कुटपिटबाट टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका शाहीको विराटनगरको न्यूरो अस्पतालमा गए राति मृत्यु भएको उनले बताए । गम्भीर घाइते शाहीलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगर सिफारिस गरिएको थियो ।
गत असार १० गते राति मादक पदार्थ सेवन गरी विवाद बढ्दै गएपछि पटेल इन्जिनियरीङ कम्पनीका पेटी ठेकेदार कालिकोट महाबै गाउँपालिका २ का ५० वर्षीय अर्जुन सिंहले साइट सुपरभाइजर शाहीलाई हम्बरले टाउकामा हानेर गम्भीर घाइते बनाएका थिए ।
कुटपिटमा संलग्न सिंहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्