‘एक विद्यार्थी, एक रुख’ अभियान सुरू गरे लकडाउनको समयमा बर्दिबासमा विद्याथीहरुले

महोत्तरी । कोरोना सन्त्रासले विद्यालय नखुलेको समयमा जिल्लाको बर्दिबास नगरपालिका ९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लाका विद्यार्थीले ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका छन् ।

चुरे संरक्षणको विषय र वनजङ्गलको कुरा जोडिएर जताततै बहस बढिरहेका बेला प्रत्येक विद्यार्थीले आफ्नो घर आँगनमा कमसेकम एउटा फलफुलको बिरुवा रोपेर हुर्काउनै पर्ने ‘एक विद्यार्थी, एक रुख’ अभियान सञ्चालन गरेका हुन् ।

विद्यार्थीको यो अभियानमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले डिभिजन वन कार्यालय महोत्तरीसँग समन्वय गरेर फलफुलका बिरुवा उपलब्ध गराएको छ ।

असारको दोस्रो साता प्रारम्भसँगै पशुपतिनगरका प्रत्येकजसो घरआँगन र करेसाबारीमा सञ्चालन गरिएको यो अभियानअन्तर्गत पहिलोचरणमा ५०० बिरुवा रोपिएका छन् । अहिले आँप, लिचीलगायतका बिरुवा रोपिएका विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए।

चुनौती बन्दै गएको चुरे र वन संरक्षणको मुद्दामा विद्यार्थीको यो अभियानसँगै नयाँ विषयले प्रवेश पाउने विद्यालय नजिकैका बासिन्दा तथा अभिभावक अमृतकुमार महतो बताउछन्।

अभियानको अभिष्ट विद्यार्थीले एउटा बिरुवा रोपेर हुर्काउनुमा मात्र सीमित छैन’, विद्यालयको भौतिक र शैक्षिक अभियानमा जोडिँदै आएका महतोले भने, ‘जनजनलाई रुखबिरुवा र प्रकृति संरक्षणबारे सचेत र सजग गराउने पनि अभियानको उद्देश्य छ ।

शैक्षिक, भौतिक अवस्था बिग्रँदै गएको विद्यालयमा गत वर्षको प्रारम्भदेखि नै महतोसहितका अभिभावकले विद्यालय केन्द्रित शैक्षिक जागरण सञ्चालन गर्दै आएका छन् । यस क्रममा विभिन्न निकायलाई घचघच्याएर भौतिक विकास गर्नेदेखि शिक्षक र अभिभावकलाई विद्यार्थीको पठनपाठन व्यवस्थापनमा जिम्मेवार बनाउने विषय समेटिएको छ ।

निरन्तरको प्रयत्नले अब विद्यालयको भवन, कक्षाकोठा, अन्य भौतिक पूर्वाधार डेस्क, बेन्च, पुस्तकालय, कम्प्युटर कक्षा र सहायक शैक्षिक सामग्री अब्बल बन्दै गएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामजतन महतो बताउँछन् ।

विद्यालय परिसरमा जनसहयोगी युवा सञ्जाल बर्दिबासले गत वर्ष थालेको बालउद्यान निर्माणको काम पनि अब अन्तिम चरणमा पुगेको छ । विद्यालयको भौतिक व्यवस्थापनसँग जोडेर गत वर्ष थालिएको बालउद्यान निर्माण कार्यसँगै तयार भएका नयाँ भवन, खेल मैदान र विद्यालय परिसर प्रवेश गरेलगत्तै लहलहाउँदा हुर्कँदै गरेका बिरुवाले विद्यालयले जुनी फेरेको स्पष्ट देखिन थालिएको पशुपतिनगरकै सामाजिक, राजनीतिक कार्यकर्ता सुरजसिंह कुशवाहा बताउँछन् ।

‘युवाको एकता, देशको सफलता’ भन्ने नाराका साथ अहिले थालिएको ‘एक विद्यार्थी, एक रुख’ अभियान हरित अभियानकै एक अंश रहेको सञ्जालको निष्कर्ष छ । ‘हामी विद्यार्थीको मस्तिष्कमा अहिलेदेखिनै व्यावहारिकरूपमै प्रकृति र रुख बिरुवाप्रति प्रेम भर्न चाहान्छौँ’, अभियानको समन्वयकर्ता सञ्जालका गोविन्द महतो भन्छन् ।

यो अभियानमा विद्यार्थीको बिरुवा रोप्न, त्यसको स्याहार, सम्भार गर्न जिम्मेवारी जोडिएको हुँदा रुखबिरुवाको महत्वबारे उनीहरु अझ थप जिज्ञासु बन्नेछन् ।

विद्यालयका विद्यार्थीको यो अभियानमा निरन्तर सहयोग रहने डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ। ‘हामी विद्यार्थीलाई आवश्यक बिरुवा र प्राविधिक सल्लाह दिइरहने छौँ’ डिभिजन प्रमुख विनोदकुमार सिंहले बताए ।

बस्तीमा विद्यार्थीले थालेका यो अभियानबारे अभिभावकको सकारात्मक चासो बढेको छ। आफूले रोप्न लगेको बिरुवा रोप्न, मल हाल्न र घेराबेरा बनाउन अभिभावकले सहयोग गरेको विद्यार्थीले बताएका छन्।

१३,असार.२०७८,आईतवार १५:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्