रुपन्देहीमा कांग्रेसका दुवै पक्षलाई उम्मेदवार छान्न सकस, आफ्नै भाइलाई उठाउने तयारीमा बालकृष्ण खाँड

रुपन्देही । नेपाली कांग्रसले १४औं महाधिवेशन नजिकिएसँगै जिल्ला जिल्लामा नेतृत्वका लागि उम्मेदवार छनोटको विषय चर्चामा छ ।

सभापति शेरबहादुर देउवानिकट नेता बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा पनि कांग्रेसका दुवै पक्ष उम्मेदवार छनोटमा जुटेका छन् । आकांक्षी धेरै भएका कारण दुवै पक्षलाई उम्मेदवार छान्न सकस पर्ने निश्चित छ ।

रुपन्देहीमा अहिलेका सभापति अब्दुल रज्जाक नदोहोरिने निश्चितजस्तै छ । खाँण समूहबाट प्रदेश वा केन्द्रमा उनलाई अगाडि बढाउने सो समूहको तयारी छ ।

जिल्ला नेतृत्वका लागि देउवा समूहबाट रामकृष्ण खाँण, युवराज गिरी र फणिन्द्र शर्मा अगाडि आएका छन् । गिरी केन्द्रमा पौडेल समूहमा भएपनि यहाँ खाँण समूहमा रहेका छन् ।

त्यसैगरी पौडेल समूहबाट थानेश्वर घिमिरे, रामचन्द्र ढकाल, अष्टभुजा पाठक, हरि लम्साल र मातृका यादवले आंकक्षा व्यक्त गरेको कांग्रेस नेताहरुले बताएका छन् ।

देउवा समूहबाट केन्द्रको पहुँचमा रहेकाले धेरैले बालकृष्ण खाँणले आफ्नो भाइ रामकृष्ण खाँणलाई नै उम्मेदार बनाउने आंकलन गरिएपनि अर्को समूहको पनि मत तान्नसक्ने गरी नेता युवराज गिरी पनि उस्तै बलियो उम्मेदार बन्न सक्दछन् ।

रुपन्देहीबाट कांग्रेसको केन्द्रमा पहिलेदेखि नै रहेका बालकृष्ण खाँण, भरत शाह, अब्दुल रज्जाक जानेछन् । उनीहरू तीनै जना देउवा समूहका हुन् । नेता खाँणले प्रदेशको नेतृत्वका लागि आफ्नो समूह बलियो बनाउन नेता भरत शाहलाई अगाडि बढाउन पनि सक्ने त्यो समूहको आंकलन छ ।

२०७८ असार ५ गते नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टीका सम्पूर्ण संगठनात्मक संरचनाहरुको अधिवेशन मिति सार्वजनिक गरेअनुसार गाउँ/ नगरका वडा साउन १२ गते, गाउँ/नगरपालिका श्रावण १६ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन श्रावण २० गते, एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको क्षेत्र र जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको क्षेत्रीय अधिवेशन श्रावण २३ गते र जिल्ला अधिवेशन साउन २६ गते, प्रदेश अधिवेशन भाद्र १ र २ गते र केन्द्रीय अधिवेशन २०७८ भाद्र १६ देखि १९ गतेसम्म काठमाण्डौमा सम्पन्न गर्ने निर्णय गरेको छ ।

कांग्रेसको अधिवेशनको प्रारम्भ बिन्दु रहेको क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता सिफारिस सकेर वितरणको चरणमा पुगेको छ ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित ) र नेपाली कांग्रेसको नियमावली २०७६ मा ब्यवस्था भएअनुसार सदस्यता सिफारिस र प्राप्त गर्ने सम्बन्धित वडा तहदेखि क्षेत्र र जिल्ला समितिको सिफारिसमा केन्द्रीय समिति समक्ष पेश भएका कृयाशील सदस्यताको नामावली २०७८ साल असार २० गतेसम्म केन्द्रीय छानबिनसमितिमा कृयाशिल सदस्यता सम्बन्धि परेका उजुरी उपर अन्तिम निर्णय गरी नयाँ र नवीकरण गरिएको कृयाशिल सदस्यताको अन्तिम सूची केन्द्रीय सभापतिलाई बुझाउने भएको छ ।

असार ३० गते कृयाशील सदस्यताको सूचीमा केन्द्रीय सभापतिबाट हस्ताक्षर भई केन्द्रीय निर्वाचन समितिलाई बुझाउने समयावधि तय गरेको छ । यो कार्य सम्पादन लगत्तै अधिवेशनको वडा तहदेखि नेतृत्व छनोट प्रक्रिया आरम्भ हुने नेता प्रजापाल गिरीले बताए ।

१४,असार.२०७८,सोमबार १०:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्