काठमाडौं । कोरोना खोपको मात्र पुरा गरेका हवाई यात्रु सिधै घर तथा गन्तब्यमा जान पाउने भएका छन् । सरकारले पछिल्लो पटक जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा यस्तो प्रावधान समेटिएको छ ।
नयाँ प्रावधान अनुसार (कोभिड १९) विरुद्धको खोपको मात्रा पुरा गरी खोप प्रमाणपत्र भएका र कोभिड १९ परीक्षण रिर्पोट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रुलाई १० दिन स्वक्वारेन्टिनमा बस्ने गरि सिधै गन्तब्यस्थलमा जान अनुमति दिइने भएको छ ।
यस्ता यात्रुले विमानस्थलमा भरेको फारमका आधारमा स्थानीय सरकारले उनीहरु क्वारेन्टिन बसे-नबसेको अनुगमन गर्ने भएको छ । यसअघि विदेशबाट आउने सबै यात्रुले अनिवार्य होटेल क्वारेन्टिन बस्नुर्ने प्रावधान रहेको थियो ।
विदेशबाट आउने सबै यात्रुको साथमा भने ७२ घण्टा भित्रको पिसिआर परीक्षण गरि नेगेटिभ नतिजा आएको रिर्पोट साथमा बोक्नु पर्नेछ ।
सरकारले गन्तब्य तोकेर हवाई उडान सहज बनाएको छ । यससँगै विदेशमा खोप नलगाएपनि नेपाल आउने यात्रुले अब ७ दिन मात्र होटेल क्वारेन्टिन बसे पुग्नेछ । यसअघि यस्तो प्रावधान १० दिनको थियो ।
यात्रुले पीसीआर रिर्पोटसहित (कोभिड १९) संकट व्यवस्थापन केन्द्र सीसीएमसीको वेवसाइटमा रहेको फारम भरेको यकिन भएका आधारमा एयरलाइन्स कम्पनीले जहाज चढाउन सक्ने छन् । तर, आफ्नो रीतिरिवाज अनुसार अन्तिम संस्कारमा भाग लिन आउने नेपाली यात्रुको हकमा भने स्थानीय तह वा सीसीएमसीको सिफारिसमा एन्टिजेन परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा सिधै घर जान दिइने छ ।
निजले घरमा बसेको ११ औं दिनमा भने (कोभिड १९) परीक्षण गर्नुपर्नेछ । अशक्त, दीर्घरोगी, फरक क्षमता भएका व्यक्ति र बिरामीको कुरुवा -कम्तिमा २ जना)लाई समेत अस्पतालको आधारितक कागजातका आधारमा एन्टिजेन परीक्षण गरि घर जान दिने भएको हो ।
७० वर्ष माथिका जेष्ठ नागरिक, पाँच वर्ष मुनीका बालबालिका र नाबालकका बुबाआमालाई समेत एन्टिजेन परीक्षण गरि घर जाने दिइने छ । यी सबै वर्गको एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइने भएको छ ।
होटेल क्वारेन्टिनमा बसेको ७ औं दिनमा कोरोना परीक्षण गरी नेगेटिभ आएमा सिधै घर जान पाइने भएको छ । वैदेशिक रोजगारीमा गएका र करार अवधि सकिएर घर फर्कनेको हकमा भने अब होटेल बुकिङ नभएपनि जहाज चढ्न सकिने प्रावधान ल्याइएको छ ।
तर, उनीहरु नेपाल आइसकेपछि भने सरकारले क्वारेन्टिन भनि तोकेका होटेलमा बस्नु पर्नेछ । यसको व्यवस्थापन पर्यटन विभागले गरिरहेको छ । यसअघि सबै यात्रुले होटेल बुकिङ नभई जहाज चढ्न नपाउने प्रावधान रहेको थियो ।
डिपोर्टेसन भएर फिर्ता भएका, जेलमुक्त भएर आएका बेखर्ची नेपालीलाई कुटनीतिक नियोगको सिफारिसमा सरकारी क्वारिन्टिनमा राखनेछ । बस्ने, कोभिड परीक्षण गर्ने र घरसम्म पुग्ने गर्न सरकारले नै बेहोर्नेछ ।
नेपाल आउने कूटनीतिक नियोगका पदाधिकारी, अन्तर्राष्ट्रिय संघसंस्था तथा गैरसरकारी संस्थाका कर्मचारी र उनीहरुको परिवार भने अब होटेलमा क्वारेन्टिन बस्नु पर्ने छैन ।
परराष्ट्र मन्त्रालयको सिफारिसका आधारमा उनीहरु स्वयमः क्वारेन्टिनमा बस्न सक्नेछन् । नेपाल आएको १० औं दिनमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई काममा फर्कन दिइने छ । विदेशबाट र्फकने नेपाली कर्मचारी १० दिन घरमै बस्ने गरी घर जान पाउने छन् ।
विदेशबाट फर्कने सुरक्षाकर्मी भने संस्थागत क्वारेन्टिनमा बस्ने गरी गन्तब्यमा जान सक्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्