वर्षाका कारण पहिरो जाँदा पर्वत-बागलुङ सडकखण्ड अवरुद्ध

कास्की । सोमबार बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका ८ चुवाभिरमा निरन्तर पहिरो झरिएका कारण गए रातिदेखि नै सडक अवरुद्ध बनेको हो ।

उक्त स्थानमा सडकभन्दा करिव ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक अवरुद्ध छ । सडकको दुवैतर्फबाट पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुल्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक विश्वराज अधिकारीले बताए । उक्त स्थानमा विगत देखिनै सामान्य वर्षा हुने वित्तिकै पटकपटक सडक अवरुद्ध हुने गरेको छ ।

सडक अवरुद्ध बनेपछि विभिन्न मालबहाक ढुवानीका सवारी साधनसँगै एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ । कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बागलुङ, म्याग्दी, मुस्ताङलगायत स्थानबाट थप उपचारका लागि पोखरा लैजानुनपर्ने बिरामी प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारण पनि मर्कामा परेका छन् ।

सडक अवरुद्ध हुँदा साविक धौवलागिरिका बागलुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधन पर्वतको नयाँपुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाडौँका लागि छुटेका सवारीसाधन पनि गन्तब्यमा पुग्न सकेका छैनन् ।

१५,असार.२०७८,मंगलवार १५:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्