ओलीले डाके महाधिवेशन आयोजक कमिटी बैठक, माधव पक्षका ११ जनालाई बोलाईएन बैठकमा

काठमाडौं । एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालबाहेकका कारबाहीमा नेतालाई बोलाइएको छ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले बुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका हुन्। बैठकमा वरिष्ठ नेता खनाल-नेपाल पक्षका कारबाहीमा परेका केही नेतालाई बोलाइएको छैन।

आफूहरूलाई बैठकबारे नबोलाइएको र बोलाइएको भए पनि नजाने केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताइन्। ओली पक्षले वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने,केन्द्रीय सदस्य झाँक्रीसहितका नेताहरूलाई पार्टीबाट निष्कासन गरेको छ।

ओलीको निष्कासनमा नपरेका केन्द्रीय सदस्यहरूलाई भने बैठकमा बोलाइएको छ। आफूहरूलाई बैठकमा बोलाइएको तर नजाने निर्णय भएको केन्द्रीय सदस्य राजेन्द्र राईले बताए।

अर्का केन्द्रीय सदस्य झपट रावलले अवैधानिक कमिटीले बोलाएको बैठकमा नजाने बताए।

‘बैठकमा त उपस्थितिको लागि बोलाइन्छ। तर हामीलाई त निमन्त्रणा गरिएको छ। निमन्त्रणा भनेको त भोजभतेरमा हुन्छ। सायद अन्तिम भोज भनेर हो कि!’उनले भने,’समय पनि तोकिएको छैन। तर जे सुकै भनिए पनि हामी त्यो बैठकमा जाँदैनौं। किनकि त्यो बैठक अवैधानिक हो।’

२०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग गरिदिएपछि एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षीय नेताहरूको मात्रै बैठक बोलाउने गरेका छन्।

ओलीले एमाले केन्द्रीय कमिटी विघटन गरेर दसौं महाधिवेशन आयोजक कमिटी गठन गरेका छन्।

वरिष्ठ नेता खनाल र नेपाल पक्षले २०७७ जेठ २ को संगठनात्मक संरचनामा पार्टीलाई लैजानुपर्ने अडान राख्दै आएका छन्। तर ओलीले खनाल-नेपाल लगायतका ११ जना सांसदलाई पार्टीबाट निकालेका छन्।

जेठ २७ गते सर्वोच्च अदालतले महाधिवेशन आयोजक कमिटीलाई अवैधानिक भनेपछि केन्द्रीय कमिटी ब्युताउन ओलीमाथि दबाब परेको छ।

१५,असार.२०७८,मंगलवार २०:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्