त्रिवि खेलकूद निर्देशनालयका निर्देशक शंकर भण्डारीको दुर्घटनामा निधन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय खेलकूद निर्देशनालयका निर्देशकसमेत रहेका सहप्राध्यापक शंकर भण्डारीको निधन भएको छ।

रूपन्देहीको देवदहमा मंगलबार बेलुकी भएको सवारी दुर्घटनामा परेर भण्डारीको निधन भएको हो।

रूपन्देहीको तिलोत्तमा वडा नम्बर २ योगिकुटीका ५२ वर्षीय भण्डारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ हुन्।

रूपन्देही देवदह वडा नम्बर १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको बा १७ च ६०६६ नम्बरको कार दुर्घटना हुँदा भण्डारीको निधन भएको प्रहरीले जानकारी दिएको छ।

सडक छेउको कल्भर्टमा कार ठक्कर खाएर पानी तालिएको रहमा खसेको थियो। मंगलबार बेलुकी करिब साडे ८ बजेतिर उक्त दुर्घटना भएको थियो।

दुर्घटनालगत्तै उनलाई बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल लगे पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले भण्डारीसँगै आफन्त थानेश्वर भण्डारी पनि कारमा रहेकोमा उनको अवस्था भने सामान्य रहेको जानकारी दिए।

भण्डारी गत वर्ष निधन भएका आफ्ना बाबु ईश्वरीप्रसाद भण्डारीको वार्षिकी र रूद्री पूजा सकेर फर्कंदै गर्दा दुर्घटनामा परेका थिए।

१६,असार.२०७८,बुधबार ०८:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्