
कैलाली । नेकपा एमाले सुदूरपश्चिमका नेता कर्ण थापाले माधव समूहलाई पार्टीमै रहन आग्रह गर्दै यसैमा हितकर हुने सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले बुधबारको बैठकले पार्टीभित्रको सबै तिक्तता हटाएको बताएका छन् ।
‘नेकपा एमालेको एकताको बारेमा धेरै चर्चापरिचर्चा भए, छलफल र बहसहरू भए । थुप्रै सर्तहरू राखिए र आधारहरू पनि तयार पारिए ’उनले लेखेका छन् ‘हिजोको बैठकले अहिलेसम्मका सबै छलफल र प्रयासहरूको निचोड निकालेको छ ।’
बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ । सो बैठकलाई एमाले एकताको ‘डेडलाइन’ भनिएको छ ।
अब अलमल गर्न नहुने थापाको तर्क छ । उनले भनेका छन् , ‘नियतमा खोट छैन भने अब अलमल गर्नु वुद्धिमत्तापूर्ण हुँदैन । एमालेमा रहने, एमालेभित्रै स्वस्थ्यताका साथ सही मूल्य र मान्यताका लागि सङ्घर्ष गर्ने बाटो नै सुगम, सहज, देश, जनता र पार्टीको लागि हितकर हुनेछ । प्रतिशोध र पूर्वाग्रहलाई त्यागौँ । देश र जनताको लागि अझै बलियो नेकपा एमाले बनाउन अग्रसरता लिऔँ ।’
प्रतिक्रिया दिनुहोस्