बालुवाटारमा वामदेव गौतमले भने,-‘आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा यस्तो गर्नु हुन्थेन’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेब गौतमले आफू प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहने प्रतिबद्धता जनाउदै माधव नेपालको आलोचना गरेका छन ।

शुक्रबारको केन्द्रीय कमिटी बैठकमा बोल्दै उपाध्यक्ष गौतमले अब ओलीको साथ नछोड्ने समेत बताए। उनले अर्का वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षको आलोचनासमेत गरेका थिए। एउटै पार्टीमा रहेर आफ्नै अध्यक्ष र प्रधानमन्त्री विरूद्ध हस्ताक्षर गर्नु गलत रहेको उनले जिकिर गरे।

‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै हस्ताक्षर गर्थेँ। माधवजीहरूले गलत गर्नुभयो। आफ्नै पार्टी अध्यक्ष प्रधानमन्त्री भएको बेलामा यस्तो गर्नु हुन्थेन,’ गौतमको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘अब मैले प्रधानमन्त्रीको साथ छोड्दिनँ। म यहाँबाट खुशी भएर जान्छु।’

यसअघिका पार्टी बैठकमा गौतम उपस्थित हुने गरेका थिएनन्। पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पार्टीमा गौतम तटस्थ बसेका थिए। फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी एकता भंग गरिदिएपछि ओलीले गरेका एकलौटी निर्णयमा गौतम असन्तुष्ट बनेका थिए।

खनाल-नेपाल पक्षले नयाँ पार्टी गठन गरेमा त्यो पार्टीमा आफू लाग्नेसमेत उनले सार्वजनिक रूपमा भनेका थिए।

नेकपाकालीन अवस्थामा पार्टीभित्र अन्तरसंघर्ष हुँदा समेत गौतम अस्थिर देखिन्थे। उनी कहिले ओलीका पक्षमा हुन्थे भने कहिले तत्कालिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग नजिक हुन्थे।

अस्थिर स्वभावकै कारण कोही पनि नेता उनको साथमा छैनन्। गौतमको यही स्वभावलाई आज ओलीले व्यङ्ग्य गरेका थिए। ओलीले गौतम आउनु सकारात्मक भए पनि आउने जाने नगर्न भनेका थिए।

१८,असार.२०७८,शुक्रबार २०:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्