मुलुकभरका अधिकांश स्थानमा वर्षा हुने, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा पानी पर्नेछ।

महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुनसक्नेछ। त्यस्तै प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेको छ।

आज देशका अधिकांश स्थानमा बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । आज राति प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

शनिबार बिहानैदेखि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ । त्यस्तै प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि आइतबार देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने अति भारी वर्षाको सम्भावना छ ।

त्यस्तै सोमबार देशका अधिकांश स्थानमा बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकभरका १७ राष्ट्रिय राजमार्गहरू अवरुद्ध भएका छन्।

सडक विभागका अनुसार बाढी पहिरोले क्षति पुर्‍याएर अवरुद्ध भएका ५३ राजमार्गलाई शनिबार विहानसम्ममा एकतर्फी सञ्चालनमा ल्याइएको छ। डुम्रे-बेशीसहर-चामे-मनाङ सडक अवरुद्ध भएको छ। त्यस्तै सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गपनि अवरुद्ध रहेको विभागले जनाएको छ।

बालाजु-त्रिशुली-धुन्चे-स्याफ्रुबेसी सडक खण्डपनि अवरुद्ध रहेको छ। त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानमा आएको पहिरोका कारण सडक अवरुद्ध बनेको छ।

कान्ति राजपथको जीतपुरमा पहिरोले बाटो अवरुद्ध भएको छ। विभागका अनुसार मुग्लिन- नारायणघाट सडक खण्ड अन्तर्गत ४ किलो, १४ किलो र २० किलोमा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ।

त्यस्तै विपी राजमार्ग पनि विभिन्न स्थानमा आएको पहिरो र बाढीका कारण सडक अवरुद्ध रहेको विभागले जनाएको छ।

१९,असार.२०७८,शनिबार ०८:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्