नेताहरुलाई माधव नेपालको निर्देशन, नमिठो नबोल्नू, ओली प्रवृतिबाहेक व्यक्तिको विरोध नगर्नू

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट नेता कार्यकर्तालाई मान्छे भड्किने खालका कुनै पनि अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । नेपालले आफैं फोन गर्दै र बैठकहरुमा समेत एमाले विवादका सन्दर्भमा झगडालु अभिव्यक्ति नदिन भनेका छन् ।

केही दिनअघि नेपालले स्वकीय सचिव मोहन गौतममार्फत जगन्नाथ खतिवडा, मेटमणि चौधरी, झपट रावल, निरा जैरु, विरोध खतिवडा, राजेन्द्र राई लगायतका नेतालाई फोन गरेर संयमित अभिव्यक्ति दिन सुझाएको एक नेताले बताए । कतिपय नेतालाई नेपाल आफैंले कोही पनि नेता कार्यकतालाई घोचपेच हुने झगडालु अभिव्यक्ति नदिन सुझाएका हुन् ।

नेपालको निर्देशन पाएका एक नेताले भने, ‘केपी ओली प्रवृतिको विरोध गर्ने तर व्यक्तिगत रुपमा कसैलाई गाली नगर्ने भन्ने उहाँको निर्देशन छ । पार्टी एक हुन पनि सक्छ नहुन पनि सक्छ । तर नजिक भएकालाई टाढा बढाउने र टाढा भएकालाई नजिक आउन बाटो नराख्ने गरी कसैले पनि अभिव्यक्ति नदिनु भनेर उहाँलाई बारम्बर भनिरहनुभएको छ ।’

केही समययता पार्टी एकताका लागि वार्तामा रहेका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई लगायतका नेताहरुको भूमिकालाई लिएर माधव पक्षकै नेता कार्यकर्ताले टिप्पणी गरिरहेका छन् ।

माधव नेपालको तर्फबाट वार्ता गरिरहेको नेताहरुको आलोचना केन्द्रीय सदस्यहरुबाटै भएपछि नेपालले नमिठो नबोल्न निर्देशन दिएका छन् ।

‘आफूले भ्याएसम्म आफैंले पनि हामीलाई कयौं चोटी मान्छेलाई नकारात्मक बनाउने अभिव्यक्ति नदिनुस् है ! ठिक्क बोल्नुस् है ! ओलीतिर रहेका मान्छेलाई पनि गाली नगर्नुस्, आउने बाटो बन्द नगर्नुस् भन्नुभएको छ,’ एक केन्द्रीय सदस्यले भने, यसपटक माधव कमरेड आफ्नो अडानबाट तलमाथि नहुने तर अभिव्यक्ति संयमित दिने भन्ने लाइनमा हुनुहुन्छ’ ।

२०,असार.२०७८,आईतवार १०:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्