नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको निधन

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर पीडित यादवको ५७ वर्षको उमेरमा सोमबार राति जनकपुर १४ मुजेलियास्थित निवासमै निधन भएको हो ।

मधेसका लोकप्रिय नेता यादव तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनी भारतको विभिन्न अस्पताल र चितवनको क्यान्सर अस्पतालमा समेत उपचार गराएका थिए । तर निको हुने अबस्था नरहेपछि चिकित्सकले घर पठाइदिएका थिए ।

जनकपुरधामस्थित स्वर्गद्वारीमा आजै उनको अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टिमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

यादव पहिलो संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ५ बाट पराजित भएका थिए । सोही क्षेत्रबाट विजयी कांग्रेसमा डा. रामवरण यादव राष्ट्रपति बनेपछि भएको उपनिर्वाचनमा उनी एमालेका रघुवीर महासेठसँग पराजित भए ।

सशस्त्र द्वन्द्वको समयमा उनी धनुषा र महोत्तरीका कमाण्डर थिए । नेपाली सेनाले साविकको शहिदनगर नगरपालिकास्थित घर घेरेपछि उनी कोठीमा लुकेर ज्यान बचाएको स्थानीय बताउँछन् ।

२२,असार.२०७८,मंगलवार १०:१६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्