सुजिता मृत्यु प्रकरणः चितवनको राप्ती राजमार्ग क्षेत्रमा भयो कर्फ्यु आदेश

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्ग क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरुले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्ने, बीच सडकमा भीड जम्मा गरी हुलहुज्जत, ढुंगामुडा, सरकारी गाडी तोडफोड तथा निजी सम्पत्ति र संरचना तोडफोड गर्ने, आगजनी तथा हुलदंगा गर्न सक्ने देखिएकाले कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मंगलबार साँझ साढे ७ बजे देखि बुधबार साँझ साढे ७ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको बताए। यो आदेश पूर्व–पश्चिम राजमार्गको लोथर पुलदेखि राप्ती–४ को डडुवासम्मको राजमार्ग तथा दायाँ, बायाँको ५०० मिटर क्षेत्रका लागि रहेको छ।

कर्फ्युको समयमा लामो दूरीका सवारी साधनबाहेक कुनैपनि व्यक्तिले आवातजावत गर्न, भेला हुन पाइने छैन। स्थानीय प्रशासनको स्वीकृति बेगर घर बाहिर निस्कन पनि पाइने छैन।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६८ क (१) बमोजिम गरिएको आदेश अवज्ञा गर्ने व्यक्तिलाई तत्काल गिरफ्तार गरी एक महिना कैद वा जरिवाना वा दुवै सजाय हुने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताए।

भण्डारीको शव फेला परेपछि भरतपुर ल्याउने क्रममा सोमबार स्थानीयबासीले दिनभर राजमार्ग अवरुद्ध पारेका थिए। मंगलबार पनि दोषीलाई कारबाही गर्न माग गर्दै स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए।

२२,असार.२०७८,मंगलवार २०:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्