दैनिक साढे १९ अर्ब पुगेको सेयर कारोबार ४ अर्बमा खुम्चियो, के संकेत ?

काठमाडौं । जेठ ३० गते एकैदिन १९ अर्ब ५५ करोड रुपैयाँको सेयर किनबेच भयो। जुन कारोबार रकम अहिलेसम्मकै उच्च हो।

त्यसयता कारोबार रकम निरन्तरजसो घट्दै गइरहेको छ। मंगलबार कारोबार रकम ४ अर्ब २२ करोड रुपैयाँमा खुम्चियो। तीन साताकै अन्तरमा कारोबार रकममा यति ठूलो गिरावट आएपछि लगानीकर्ता सशंकित पनि भएका छन्।

नेप्से परिसूचकले भने जेठ ३१ गते अहिलेसम्मकै उच्च अंक ३०२६ अंकको रेकर्ड बनाएको छ। त्यसयता परिसूचक पनि घट्दै आएको छ। सेयर बजारबारे प्राविधिक विश्लेषण गर्दै आएका राजु मुनिकर कारोबार घट्नुलाई नराम्रो पक्षका रूपमा हेर्न नमिल्ने बताउँछन्।

कतिपय संस्थागत तथा ठूला लगानीकर्ता नाफा बुक गरेर बजारबाट बाहिरिएको र लकडाउन खुकुलो भएपछि उनीहरू बजारमा प्रवेश नगरेकाले कारोबार रकम घटेको मुनिकार बताउँछन्।

त्यस्तै कतिपय म्यचुअल फण्ड तथा इन्भेष्टमेन्ट कम्पनीलाई असार मसान्तसम्मको वित्तीय विवरणमा राम्रो नाफा देखाउनु पर्ने भएकाले नाफा बुक गरिसकेपछि उनीहरूले अहिले बजारमा लगानी नल्याएको उनको भनाइ छ।

अहिले साना तथा मध्यम खासगरी व्यक्तिगत लगानीकर्ताबाट मात्रै बजारमा कारोबार भइरहेको उनी बताउँछन्। जसले गर्दा कारोबार रकम पनि बढ्न नसकेको उनको भनाइ छ।

त्यस्तै उच्च मूल्यमा सेयर किनेकाहरू अहिले होल्डमै रहेको र खरिद गर्न चाहनेले पनि निरन्तर बजार घटेका कारण होल्ड गरेकाले कारोबार रकमको मात्रा न्यून हुन गएको मुनिकार बताउँछन्। सेयर किन्न चाहनेहरू पनि राम्रो करेक्सन आउने आशामा रहेकाले कारोबार घटेको उनको बुझाई छ।

मौद्रिक नीति, कम्पनीहरूको चौथो त्रैमासिक वित्तीय विवरण, लाभांशसमेत आउने क्रममा रहेकाले ती पनि अहिले पर्खाइका विषय रहेको उनले बताए। बजारको परिसूचकसँगै कारोबार रकम न्यून हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ।

‘भोल्युम कम हुनु बजार सामान्य अंकमा घट्नु भनेको न्यून मूल्यमा आत्तिएर बेच्नेहरू छैनन् है भन्ने संकेत हो’ मुनिकारले सेतोपाटीसँग भने ‘अर्कोतर्फ थोरै कारोबार हुनु भनेको ठूला तथा संस्थागत लगानीकर्ता पनि होल्ड पोजिसनमै हुँदा आपूर्ति धेरै नभएको संकेत हो।’

अर्कोतर्फ खरिद गर्नेहरूले मूल्य घटाएरमात्रै किन्न चाहेका छन्। जसले गर्दा खरिद गर्नेहरू पनि सक्रिय नभएको र ठूलै ‘करेक्सन’ कुरिरहेको संकेतका रूपमा कारोबार रकम घट्नुलाई बुझ्नुपर्ने उनले बताए।

इलेभेट प्राविधिक रूपमा हेर्दा अहिले बजारको परिसूचक २७९५ मा सपोर्ट प्वाइन्ट रहेको उनले बताए।

‘अहिले बजार साइडवेजमै खेलिरहेको छ,’ उनले भने, ‘बजारमा प्रवेश गर्नका लागि पनि र बेचेर बाहिरिनका लागि पनि कुनै निश्चित परिस्थिति बनेको छैन।’

बजार घट्दै जाँदा २७९५ को सपोर्ट प्वाइन्ट पनि तोडेमा २५९० बलियो सपोर्ट प्वाइन्ट रहेको उनले औंल्याए। यद्यपि तत्काललाई बजार २७९५ देखि २८९५ को बीचमा चलिरहन सक्ने उनको अनुमान छ।

मंगलबार बजार बन्द हुँदा परिसूचक २८१८ अंकमा छ। त्यस्तै बजार माथि जानका लागि २८९६ को विन्दु तोड्नुपर्ने अवस्था रहेको उनले बताए।

बुल मार्केटको अवधि बाँकी नै रहेकाले निश्चित समय र अंकपछि बजार बढ्ने मुनिकारले बताए।

‘प्राविधिक रूपमा बुलको चक्रलाई हेर्दा २०२३ को नोभेम्बरदेखि २०२४ जुलाईको बीचमा मात्रै बजारको बुल सकिने देखिन्छ’ उनले भने।

अवधिका हिसाबमा ६० प्रतिशत बुल सकिएको र ४० प्रतिशत बाँकी रहेको उनले औंल्याए। उनका अनुसार विगतमा ३ वटा बुल र ३ वटा बियरिस चक्रको उदाहरण छ।

२३,असार.२०७८,बुधबार ०८:०८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्