नेकपा माओवादी केन्द्रको दर्ता खारेज गर्न माग गर्दै, पूर्वमाओवादी नेता निर्वाचन आयोगमा

काठमाडौं । सत्तारुढ नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका नेताहरुले बुधबार आयोगमा निवेदन दिएका हुन् । माओवादीले २०६९ यता महाधिवेशन नगरेको र १३ साउन २०७३ मा पार्टी एकताका नाममा आयोगलाई झुक्याएको भन्दै उनीहरुले माओवादी केन्द्रको एकता खारेज गर्न माग गरेका हुन् ।

निवेदन दिन अधिवक्ता सरोज बुढाथाकीसँगै एमाले नेताद्वय लीलबहादुर थापा र रामचन्द्र मण्डल आयोग पुगेका थिए । उनीहरु सर्वोच्च अदालतले २३ फागुनमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका थिए ।

एमालेतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादल, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादी कारबाही गरेको थियो । त्यही कारणका कारण उनीहरुको सांसद पद गएको थियो ।

२३,असार.२०७८,बुधबार १४:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्