कोभिडको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने

काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा सङ्क्रमण दरमा वृद्धि भइरहेकाले जोखिम बढ्न सक्नेतर्फ ध्यानाकर्षण गराएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारी यतीखेर सर्तक हुन सकिएन भने गाह्रो अवस्था सिर्जना हुने बताउनुहुन्छ ।

“जोखिमयुक्त हुँदाहुँदै जनजीवन सहजीकरण गर्न निषेधाज्ञा खुकुलो गरिएको हो, कोरोना सबै सकियो भनेर होइन”, डा. अधिकारीले बताए , “अझै हाम्रो व्यवहार, शैली परिवर्तन गर्नु हुन्न, सबै मापदण्डको पूर्ण पालनामा नचुकौँ ।” मन्त्रालयले अघिल्लो महिनामा सार्वजनिक सूचना नै जारी गरी तेस्रो लहरको सङ्क्रमण आउन सक्ने र त्यस समयमा बालबालिका बढी जोखिममा पर्नसक्ने आंकलन गर्दै अस्पताललाई आवश्यक शय्या व्यवस्थापन गर्न निर्देशन दिइसकेको छ ।

जनस्वासथ्यविद् डा रविन्द्र पाण्डे प्रजाति नै परिवर्तन भएर तेस्रो लहर आउनसक्ने भन्दा पनि यही डेल्टा प्रजाति नै वृद्धि हुने अनुमान गरे । भारतमा समेत सङ्क्रमण बढ्न थालेकाले त्यसको प्रत्यक्ष मार नेपालमा पर्ने वितगको उदाहरण छ ।

मुख्यगरी निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमणले गति लिन थालेको जनाइएको छ । बजारमा मानिसको भिडभाड बढ्न थालेको र मापदण्ड पालनामा पुनः लापरवाही देखिन थालेको छ ।

चार दिन अघिको दैनिक तथ्याङ्कसँग बुधबारको तुलना गर्दा एक हजार ३७६ जना बढी सङ्क्रमित देखिनु भनेको जोखिम बढ्दै गएको सङ्केत हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा बुधबार (असार २३ मा) ११ हजार ८९८ को परीक्षणमा दुई हजार ९७९ मा सङ्क्रमण देखियो । त्यसको अघिलो दिन असार २२ मा भन्दा ३४५ जना बढी सङ्क्रमित अर्थात् १२ हजार ५८५ जनाको परीक्षणमा दुई हजार ६३४ जनामा सङ्क्रमण देखिएको थियो ।

त्यसको अघिल्लो दिन २१ गतेको तथ्याङ्कमा ११ हजार ५२७ को परीक्षण गर्दा दुई हजार ६२२ मा सङ्क्रमण देखिएको थियो । असार २० गते एक हजार ६०३ जना सङ्क्रमित फेला परेका थिए ।

दोस्रो लहरको सङ्क्रमण फैलिँदा गएको वैशाख पहिलो हप्तादेखि बाग्लुङ जिल्लाबाट निषेधाज्ञा शुरु भएको थियो । वैशाख १६ गतेदेखि उपत्यकालगायत सङ्क्रमण फैलिएको धेरै जिल्लामा आदेश जारी गरिएको थियो ।

वैशाख र जेठ महिनामा ह्वात्तै बढेको कोरोना असार लागेसँगै घटेपछि विस्तारै निषेधाज्ञा खुकुलो पार्न थालिएको हो ।

सङ्क्रमण घटेसँगै अहिले केही जिल्लाले निषेधको आदेश हटाइसकेका छन् भने लागू भएका जिल्लामा समेत आर्थिक गतिविधि र मानवीय आवागमनलाई सहज पारिएको छ । सबैभन्दा बढी सङ्क्रमण देखिएको काठमाडौँ उपत्यकामा यही २२ गतेदेखि सार्वजनिक सवारीसमेत सञ्चालन गरिएको छ ।

अन्तर जिल्ला यातायत आवागमन र दर्शक उपस्थित भएर गरिने गतिविधि बाहेकका अन्य गतिविधि खुला गरिएको छ ।

यसरी निषेधको आदेश खुकुलो बनाउँदा मानिसमा कोरोना नै हराइसकेको भन्ने सन्देश पुगेकाले समस्या बढ्ने डा. पाण्डेको विश्लेषण छ । २५ देखि ३० प्रतिशतको हाराहारीमा सङ्क्रमण दर रहेकै बेला निषेधाज्ञा खुकुलो बनाइनु जोखिम हटेर नभइ आर्थिक र मानवीय गतिविधि चलायमान बनाउनका लागि भएकाले सर्वसाधारणले गम्भीरतापूर्वक बुझ्नुपर्नेमा सुझाव दिए ।

गृह मन्त्रालकया प्रवक्त जनकराज दाहाल अहिले कुनै पनि गतिविधि गर्दा स्वास्थ्यका मापदण्डलाई भुल्न नहुनेमा जोड दिनुहुन्छ । मानिस आफैँ सचेत भएनन् भने जोखिम स्वभाविक रुपमा बढ्ने उनको भनाइ छ ।

उनले जोखिमको अवस्था हेरेर जिल्लाले आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिइएको समेत जानकारी दिए ।

यस्तो छ सुझाव

जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेलेका अनुसार अहिले मुलुकका विभिन्न जिल्ला कोभिड–१९ को जोखिमबाट बाहिर गएर निषेधाज्ञा खुलाएको होइन । कूल २५ देखि ३० प्रतिशतको हाराहारीमा सङ्क्रमण कायमै थियो । थोरै परिवर्तन मात्रै भएको थियो । यो बेला परीक्षणको दायरा साँघुरो र आम जनता पनि परीक्षणमा उत्सुक नदेखिएको पाइएको उनले बताए।

काठमाडौँभन्दा गाउँमा धेरै नै सङ्क्रमण रहेको तर परीक्षण हुन नसकेको उनको मुल्याङ्कन छ ।

मुलुकमा केहीदिन यता सङ्क्रमण वृद्धिदर बढ्दो छ । आर्थिक गतिविधि चलायमान गर्न मात्र निषेधाज्ञा खुकुलो पारिएको हो । तर बुझाई फरक पर्दा घाँटी र चिउँडोमा मास्क लगाउने अबस्था देखिन थालेको छ ।

काम गर्ने क्षेत्रका, तरकारी पसल, अन्य बजारमा काम गर्ने अधिकांशले मास्क लगाएको छैन । त्यसैले सङ्क्रमण बढ्न सहयोग पु¥याएको छ । उनको विष्लेषणअनुसार अहिले नै तेस्रो प्रजाति भित्रिने सम्भावना भने कम छ । तर अहिले कै डेल्टा प्रजाति बढेर तेस्रो लहर आउन सक्ने सम्भावना छ ।

मुलुकमा खोप पनि पर्याप्त मात्रामा आउन सकेको छैन । अहिलेसम्म २६ लाख मानिसले पहिलो मात्रा र साँढे ८ लाख मानिसले दोस्रो मात्राको खोप लगाएको सरकारी तथ्याङ्कमा उल्लेख छ । यो बेला धेरैभन्दा धेरै नागरिकलाई खोप लगाउनु पर्दथ्यो । त्यो सम्भव नभएपछि अबको लहरमा खोप नलगाएकाहरू बढी जोखिममा रहने उनको जिकीर छ ।

जोखिम रोक्ने मुख्य उपाय भनेको भिडभाड रोक्नु र मानिसमा स्वास्थ्यको मापदण्ड पूर्ण पालना गराउनु हो । उनले भिडभाड हुने ठाउँमा सुरक्षाकर्मी परिचालन गरी आवश्यक परे जरिवाना नै लगाउन सुझाव दिए ।

ठाउँठाउँमा जनचेतना पनि आवश्यक छ, थाहा हुँदाहुँदै पनि मासिन सचेत भएका छैनन्, आफूलाई नपरेसम्म नजरअन्दाज गर्ने हाम्रो सोच छ, त्यो सोच बदल्न जरुरी छ”, डा. पाण्डेले बताए । नेपालमा फैलिएको डेल्टा प्रजातिको विश्वभरी नै प्रभाव छ । यो झण्डै १०० देशमा फैलिएको छ । डेल्टालाई रोक्न धेरै मुलुक बन्दाबन्दीमा छ । डेल्टा प्लस पनि परीक्षणमा देखिइसकेको छ ।

अब नरम खालको वा कडा खालको पनि आउन सक्ने उनले बताए । राम्रो अध्ययन नहुँदा जोखिम बढ्दो नै छ ।

नेपालमा युवाले खोप नलगाएका कारण उनीहरूसमेत जोखिममा छन् । बालबालिका मात्रै जोखिममा पर्ने होइन । जुनजुन क्षेत्र चलायमान गरियो । त्यसमा नीति, नियम तथा मापदण्ड पूर्ण पालना गराउन जरुरी हुन्छ ।

यातायत, मालपोत, कर कार्यालमजस्ता क्षेत्रमा एकदम भिड छ, त्यो भिड कसरी कम गर्ने ? गम्भीर बन्नुपर्ने उनको तर्क छ । सरकार र नागरिक मिलेर आआफ्नो क्षेत्रबाट योगदान गर्यौँ भने नियन्त्रण सम्भव छ, नत्र अफ्ठेरो अबस्था आउन सक्ने उनको ठम्याइ छ । अहिले भारतमा समेत फेरि सङ्क्रमण बढ्न थालेको छ ।

भारतमा बढ्नु भनेको नेपालमा पनि बढ्ने सङ्केत हो । कोरोनाको पहिलो लहर र दोस्रो लहर आउँदा पहिले भारतमा आएपछि त्यसको केही हप्तामा नेपालमा महामारी भएको थियो । डा.पाण्डेले भन्नुहुन्छ, “पुनः जोखिम उच्च देखिएकाले हामीले कतै लापरबाही ग¥यौँ की, समीक्षा गरौँ ।”

२४,असार.२०७८,बिहीबार १८:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्