भोलि फेरि बस्ने गरि आजको कार्यदल बैठक सकियो, ठूलो प्रगति भएको कार्यदलका सदस्यहरुको निष्कर्ष

काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि बनेको कार्यदलको बैठक भोलि बिहान फेरि बस्ने गरी सकिएको छ। आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडलबाहेक कार्यदलका अन्य सबै नेता सहभागी थिए। मन्त्रिपरिषद बैठक चलिरहेकाले पौडेल बैठकमा उपस्थित नभएपछि भोलि बिहान साढे ११ बजे बस्ने गरि आजको बैठक सकिएको हो।

कार्यदलका सदस्य घनश्याम भुसालले छलफलमा कुनै प्रगति नभएको बताएका छन् । अनौपचारिक रूपमा १० दिन अघिदेखि तयार पारेको मस्यौदामा अहिलेसम्म कार्यदल प्रवेश गर्न नसकेको उनले बताए ।

‘१० दिनदेखि केही पनि प्रगति भएको छैन । जुन अवस्थामा पहिले थियौँ अहिले त्यही अवस्थामा छौँ’,बैठकपछि उनले भने,‘अनौचारिक रूपमा छलफल गरेपछि केही एजेन्डाहरू तय गरेका थियौं। गत १० दिनदेखि हामीले खास ठोस निर्णय गर्न सकेका छैनौं। विभिन्न कारणले आज अगाडि बढ्न सकेनौं। भोलि साढे ११ बजे पुन बस्नेछौ’, उनले भने।

अध्यक्ष केपी ओली पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले भोलि बस्ने बैठकले टुंगोमा पुर्‍याउने बताए।

‘भोलि साढे ११ बजे बस्ने बैठकले यसलाई टुंगोमा पुर्‍याउँछ भन्नेमा हामी आशावादी छौं’, उनले भने, ‘‍हामी विषयबस्तुलाई निष्कर्षमा पुर्‍याउने गरि छलफल गरिरहेका छन्।’

‘तीन वर्षदेखि जुन तुष छ, त्यहाँबाट यो ठाउँसम्म ल्याइपुर्‍याएका छौं भने यो ठूलो कुरा हो। भोली (शुक्रबार) ११:३० बजेको बैठकले टुंग्याउनेमा आशावादी छौं,’ नेता नेम्वाङले भने।

२४,असार.२०७८,बिहीबार २१:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्