पशुपति क्षेत्रका खाली स्थानमा औषधीय गुणले युक्त वनस्पति गुर्जो रोपण

काठमाडौँ । पशुपति क्षेत्रका खाली स्थानमा औषधीय गुणले युक्त वनस्पति गुर्जो रोप्ने अभियानअन्तर्गत वनकाली क्षेत्रको उद्यानमा १०० गुर्जोका बिरुवा रोपिएको छ ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोको प्रवद्र्धनमा लाग्नुभएका आन्तरिक राजश्व कार्यालय धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटका नेतृत्वमा शुक्रबार गुर्जोका बिरुवा रोपिएको हो ।

कार्यक्रममा पूर्वप्रधानसेनापति रुक्माङ्गद कटवाल, पूर्वसहसचिव एवं योग शिक्षक किशोरकुमार जोशी, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल, अभियानकर्मी राजलवटलगायतले गुर्जो रोपण गरेको थियो ।

नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि राजलवटले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोबाट बनेको चिया र धुलो ३६ जिल्लाका १२१ केन्द्रबाट
निःशुल्क वितरणको व्यवस्था मिलाएको थियो ।

विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरेदेखि नै उहाँले गुर्जोका बिरुवा र यसबाट बनेको चिया र धुलो निःशुल्क वितरण गर्दै आएको थिए । एक घरमा एक गुर्जोको बिरुवा हुर्काएर विभिन्न रोगबाट बच्ने शक्तिका लागि औषधि बनाउन सकिने राजलवटको विश्वास छ ।

२६,असार.२०७८,शनिबार ०९:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्