ब्राजिलविरुद्ध गोल गरेका डि मारिया भन्छन्, मेस्सीले भने यो मेरो फाइनल हो

काठमाडौं । अर्जेन्टिनाले २८ वर्षको उपाधि खडेरी तोड्दै आइतबार बिहान कोपा अमेरिकाको उपाधि जित्दा एन्जल डि मारियाले निर्णायक गोल गरे । पेरिस सेन्ट जर्मेनबाट खेल्ने डि मारियाले २२औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गरेको गोल नै निर्णायक बन्यो ।

डि मारियाले लिओनल मेस्सीले यो कोपा अमेरिका आफ्नो लागि प्रमाणित गर्ने अवसर रहेको बताएको खुलासा गरे ।

डि मारियाकै निर्णायक गोलमा मेस्सीले अर्जेन्टिनाका लागि पहिलो ट्रफी जिते ।

चोटका कारण सन् २०१६ को विश्वकप फाइनलसहित केही ठूला खेल गुमाएका डि मारियाले ब्राजिलविरुद्ध भने पहिलो रोजाइमा खेलेका थिए ।

डि मारियाले के भने ?

‘यो अविस्मरणीय हुन गइरहेको छ,’ डि मारियाले खेल पछि भने, ‘मेस्सीले मलाई मलाई धन्यवाद भने, मैले उनलाई धन्यवाद भनेँ ।’

‘उनले मलाई भने कि यो मेरो फाइनल हो, जुन फाइनल म फेरि खेल्न सक्दिनँ । यो आजै हुनुपर्छ र आजै भयो ।’

उनले थपे, ‘म मेरा छोरीहरू, मेरी श्रीमती, मेरा आमाबुवा, हामीलाई समर्थन गर्ने सबै मानिस र यहाँ आएका सबै पागल व्यक्तिहरूको लागि खुसी छु । विश्वकप चाँडै आउँदैछ र यो एक ठूलो प्रोत्साहन छ ।’

‘मेस्सीलाई सबैको आवश्यकता थियो, र हामी उसलाई चाहिएको थियो’ उनले थपे ।

डि मारियाले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अजेन्टिनालाई बलियो ब्राजिलविरुद्ध अग्रता दिलाए ।

मेस्सीले फाइनलमा गोल गर्न भने सकेनन् । मेस्सीले फाइनल अघिसम्म ४ गोल गरिसकका थिए । डे पउल मेस्सीलाई ट्रफी दिने मध्ये एक हुन पाउँदा खुशी थिए ।

‘यो हामीले सपना देखेभन्दा बढी हो,’ डी पउलले भने, ‘ब्राजिलको विरूद्ध माराकानामा च्याम्पियन हुनुले सबै प्रकारका अपेक्षाहरू भन्दा बढी छ। म धेरै खुसी छु ।’

२७,असार.२०७८,आईतवार ११:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्