काठमाडौं । सोमबार दिउँसो २ बजे सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना तथा शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्रीको सपथ गराउन परमादेश दियो । सो आदेशलगतै सर्वोच्चको छेउमै रहेको माइतीघर मण्डलामा फैसलाको विपक्षमा प्रदर्शन सुरु भयो ।
केपी शर्मा ओली समर्थित राष्ट्रिय यूवा संघ नेपालले मिनिट्रकमा मञ्च बनाएर सर्वोच्च अदालतले आज गरेको फैसलाको विरोध कार्यक्रम सुरु गर्यो । एमाले नेता महेश बस्नेतले अदालतको फैसला विरुद्ध उत्तेजक भाषण मात्र गरेनन् अदालतको मान हानी हुने शब्दहरू प्रयोग गरे । उनले अदालतले घाँस खाएर फैसला गरेको आरोप लगाउने देखि प्रधानन्यायाधीशको मान मर्दन हुने किसिमका अभिव्यक्ति दिए । प्रधानन्यायाधीशले निर्दलीयतालाई प्रोत्साहन गरेर आफू प्रधानमन्त्री बन्ने सपना देखेको भन्दै प्रधानमन्त्री बन्ने चाहना भएर काँग्रेसमा प्रवेश गरेर एमालेसँग प्रतिस्पर्धा गर्न चुनौती दिए ।
बस्नेतको भाषणपछि झन्डै ५० जना हाराहारी रहेका यूवा संघका कार्यकर्ताले सडक प्रदर्शन सुरु गरेका थिए । उनीहरुले माइतीघर मण्डलाबाट प्रहरीको छेकबार नाघ्दै बबरमहलसम्म प्रदर्शन गरेका थिए । बबरमहलमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको पुत्ला जलाउन खोजेपछि झडपको स्थिति पैदा भएको थियो ।
उनीहरुले एमाले अध्यक्ष ओलीको समर्थन गर्दै उनको ठूलो तस्बिर रहेको फ्लेक्स प्रिन्ट बोकेर आजलाई हैन भोलिलाई, दश वर्ष ओलीलाई’ जस्ता नारा लगाएका थिए । दिउँसो ४ बजे एमालेको ओली समर्थित अनेरास्ववियूका कार्यकर्ता अदालतको फैसलाको विरोध गर्न माइतीघर मण्डला आइपुगेका थिए । झम झम पानी परेपछि एक घण्टा प्रदर्शन गर्न रोकिएका उनीहरुले साँझ ५ बजेदेखि प्रदर्शन गर्न सुरु गरे ।
अनेरास्ववियूका कार्यकर्ताहरूले पनि प्रधानन्यायाधीश राणाबिरुद्ध आपत्तिजनक शब्द प्रयोग गर्दै नाराजुलुश गरे । उनीहरुले प्रतिनिधि सभा पुनःस्थापना गर्ने र काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा २ दिनभित्र नियुक्त गर्न दिएको परमादेशको विरोध गर्दै प्रधानन्यायाधीशलाई फाँसी दे भन्ने सम्मका नारा लगाए । उग्र रुपमा सडक प्रदर्शन गरेर ठाउँ ठाउँमा प्रहरीले रोक्न खोज्दा तनावको अवस्था समेत देखिएको थियो । सर्वोच्चको फैसलाको विरोधमा भएको प्रदर्शनका कारण बबरमहलको एकतर्फी सडक अवरुद्ध भएको थियो ।
५० हाराहारी प्रदर्शनकारी, ५ सय हाराहारी सुरक्षाकर्मी
अदालतको फैसलापछि सडकमा अराजकता फैलने आँकलनका साथ सर्वोच्च अदालत परिसरदेखि नयाँ बानेश्वर क्षेत्रसम्म ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । एक प्रहरी अधिकृतका अनुसार माइतीघर बबरमहल क्षेत्रमा मात्रै ५ सय हाराहारी नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
सर्वोच्चको फैसलाको स्वागत गर्न माइतीघर मण्डलामा आएका काँग्रेस समर्थित नेविसंघका कार्यकर्ता र अनेरास्ववियूका कार्यकर्ताबीच झडपको स्थिति आउन लागेपछि नेविसंघका कार्यकर्ताहरूलाई प्रहरीले ठूलो घेराभित्र राखेको थियो ।
सर्वोच्चको फैसलाको पक्षमा उनीहरुले नारा लगाउन थालेपछि अनेरास्ववियूका कार्यकर्ताले आक्रमण गर्न खोजे पनि प्रहरीले दुई घेरा बनाएर रोकेको थियो । काँग्रेस कार्यकर्ताहरूले साँझ माइतीघर मण्डलामा दीपावली गरेर सर्वोच्चको फैसलाको स्वागत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्