एक घन्टा भेटमा प्रधानमन्त्री देउवा र माधव नेपालले के-के कुराकानी गरे?

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निम्तोमा प्रधानमन्त्री शेरबहादुर देउवा बुधबार कोटेश्वरस्थित नेपाल निवास पुगे। प्रधानमन्त्री नियुक्त भएको भोलिपल्ट चिया पिउन नेता नेपालले देउवालाई घरमा बोलाएका थिए।

नेपालको निम्तोपछि प्रधानमन्त्री देउवा नेपाली काङ्ग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित नेपाल निवास पुगेका थिए।

उनीहरूबीच करिब एक घन्टा भलाकुसारी भएको थियो। सुरूमा एमाले नेता नेपालसहित विरोध खतिवडालगायत नेताहरूसँग कुराकानी भए पनि पछि देउवा र नेपालले कुराकानी गरेका थिए।

उक्त छ्लफलमा सहभागी रहेका काङ्ग्रेस महामन्त्री खड्काले सरकार सञ्चालन र अहिलेसम्मका राजनीतिक घटनाक्रमबारे समीक्षा भएको बताए। उहाँले सरकार सञ्चालन तथा कोरोना नियन्त्रण लगायतमा प्रभावकारी काम हुनुपर्ने सुझाव दिनुभएको छ,’ खड्काले बताए, ‘अहिलेसम्मका राजनीतिक घटनाक्रमको पनि समीक्षा भयो।’

नेता नेपालले देउवा सरकारले गरेको पहिलो निर्णयको प्रशंसा पनि गरेका थिए। देउवाले मंगलबार कार्यभार सम्हाल्दै चैतभित्र सबैलाई कोरोना खोप लगाउने निर्णय गरेका थिए। नेता नेपालले सरकारले सबैका कुरा सुनेर अगाडि बढ्नुपर्ने पनि बताएका थिए।

सरकारमा सहभागिता र विश्वासको मतबारे पनि केही कुरा भए कि भन्ने प्रश्नमा आज त्यस्तो केही विषयमा छलफल नै नभएको दाबी खड्काले गरे।

नेता नेपालसहित एमालेका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। ती सांसदले विश्वासको मत नदिए देउवा सरकार अफ्ठेरोमा पर्नेछ। गत सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएकै दिन नेता नेपालले आफू अब गठबन्धनमा नरहने बताएका थिए।

मङ्गलबार नेपाल देउवालाई प्रधानमन्त्रीमा सपथ खुवाउने कार्यक्रममा सहभागी हुँदै बधाई दिएका थिए। जुन कुरालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार बालकोट पुगेपछि आलोचना गरेका थिए।

ओलीले नेता नेपालकै कारण आफ्नो नेतृत्वको सरकार ढलेको र नेता नेपाललाई एमालेमा ठाउँ नभएको बताएको केहीबेरमै प्रधानमन्त्री देउवा र नेता नेपाल भेटवार्ता गरेका हुन्।

३०,असार.२०७८,बुधबार २०:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्