बजेट पास गर्ने क्रममा बुधबार गण्डकी प्रदेशको प्रदेशसभामा सत्तारुढ र विपक्षी सांसदबीच घम्साघम्सी

पोखरा । बजेट पास गर्ने क्रममा बुधबार गण्डकी प्रदेशको प्रदेशसभामा सत्तारुढ र विपक्षी सांसदबीच घम्साघम्सी भएको छ । सत्तारुढ सांसदतिर लक्षित गर्दै टेबल बजारेका विपक्षी नेकपा एमालेको सांसदले सिंगल सिंगल आइज’ समेत भन्न भ्याए ।

२९ जेठमा बनेको कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले १ असारमा हतारहतार बजेट ल्याउँदा योजनासहितको बजेट पुस्तिका (रातो किताब) तयार पार्न नसकेपछि विवाद शुरु भएको थियो । रातो किताब नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको विपक्षी एमालेमाथि सरकारले, पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारको पालामा बजेटमा नभएको योजनाका लागि लागि ४ अर्बको ठेक्का लगाएको आरोप लगायो ।

प्रतिउत्तरमा एमालेले सरकारमाथि १६ करोड रुपैयाँ रकमान्तर गरी सांसदहरुमार्फत बाँडेको आरोप लगायो र प्रदेशसभामा २७ गतेदेखि शुरु बजेटमाथिको छलफल अवरुद्ध गर्‍यो ।

लगातार बैठक अवरुद्ध भएपछि सरकार र प्रमुख प्रतिपक्षीबीच रकमान्तर गरिएका योजना छानबिनका लागि एमाले सांसदको संयोजकत्वमा ७ सदस्यीय संसदीय समिति गठन गर्ने सहमति भयो । सहमतिअनुसार नै विनियोजन विधेयक प्रदेशसभामा पेश भयो र साउन १ अगाडि नै विनियोजन विधेयक पास गरिसक्नुपर्ने भएकाले हतारहतार छलफल सकियो ।

बुधबार बिहान एमालेले अर्थ मन्त्रालयको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री पोखरेललाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो र जवाफ नदिए सदन चल्न नदिने अडान थियो । त्यसपछि आफूहरुको माग पूर नगरेको भनी बिहान ११ बजे शुरु भएको बैठक अवरोध गर्‍यो ।

साँझ ४ बजे पुनः बसेको बैठकमा फेरि एमालेले संसद अवरुद्ध गर्‍यो, तर सभामुख नेत्रनाथ अधिकारीले बैठक रोकेनन् । मुख्यमन्त्री पोखरेल विधेयक पेश गर्न रोष्टममा जान खोज्ने र विपक्षीहरुले अवरोध गर्दा प्रदेशसभामा घम्साघम्सी भयो ।

रोष्टमतिर जान खोजेका मुख्यमन्त्रीलाई विपक्षी सांसदहरुले घेरा हाल्ने प्रयास गरेका थिए । त्यसक्रममा मर्यादापालकले मुख्यमन्त्रीलाई विपक्षी सांसदहरुको घेराबन्दीबाट छुटाएर रोष्टमतिर पठाए । विपक्षी सांसदहरुले नाराबाजी गर्दै टेबल उचालेर फ्याँके । नेकपा एमालेका सांसद तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले टेबल उचाल्दै ४ जना सांसद भएतिर फ्याँके । उनले माओवादी केन्द्रका सांसद गायत्री गुरुङ, आशा गुरुङ, नेपाली कांग्रेसका सांसद मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा भएतिर कुर्ची फ्याँकेका थिए ।

सांसद बस्नेतले ठाउँ साँघुरो भएकाले टेबुल ‘हटाइएको’ दाबी गरेका छन् । सत्तारुढ सांसदले हस्तक्षेप गरेपछि आफूहरु प्रतिवाद गर्न बाध्य भएको भन्दै उनले भने, ‘त्यहाँ उचालेर राखेको देखिन्छ कि फ्याँकेको भिडियोमा नै हेर्नू ’

घटनाको केन्द्रमा सांसद विन्दु थापा

प्रदेशसभामा भएको घटनामा सत्तारुढ नेपाली कांग्रेसका विन्दुकुमार थापा पनि मुछिएका छन् । आफूहरुको अवरोधका बीच मर्यादापालकले मुख्यमन्त्री पोखरेललाई रोस्टममा लैजान खोजेपछि एमाले सांसदहरु नाराबाजी गर्दै रोस्टम घेर्न दौडिए ।

त्यही भीडमा सत्तारुढ सांसद थापा पनि पुगे । कांग्रेस सांसद मेखलाल श्रेष्ठले हतारहतार सांसद थापालाई फर्काए । तर यसले विपक्षी सांसदलाई थप अक्रोशित बनायो । ‘मैले उहाँ (सांसद थापा) लाई रोकें, उहाँ ब्याक पनि हुनुभयो,’ सांसद श्रेष्ठ भन्छन्, ‘उहाँहरु (विपक्षी सांसदहरु) ले हामीलाई सिंगल सिंगल आइज पनि भनियाथ्यो । मैले कुनै प्रतिक्रिया दिइनँ किनकी सत्तापक्ष संयमित हुनुपर्छ ’

त्यही आक्रोशमा पूर्वमन्त्री एवं एमाले बस्नेतले आफ्नो अगाडि रहेको टेबल उचालेर सत्तारुढ दलका सांसदहरुको अगाडि रहेको खाली कुर्सीहरुमाथि बजारेका हुन् । मन्त्री बस्नेतले फालेको टेबल छैठौँ लहरका मन्त्रीको टेबल हो, जसलाई तत्कालीन वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले प्रयोग गर्दै आएका थिए । यसपटक मन्त्रालय बाँडफाँट र मन्त्री नियुक्त नहुँदा यो टेबल खाली थियो ।

जनता समाजवादी पार्टी सांसद धनमाया लामा भन्छिन्, टेबल हामीतिरै फालिएको थियो । लाग्ने गरी फालेको भए शायद चोट लाग्थ्यो ।’ यद्यपि उनी पनि कांग्रेस सांसद विन्दु थापा मुख्यमन्त्रीको ‘पछिपछि जाँदा’ विपक्षी सांसदहरु आक्रोशित भएको र त्यही क्रममा टेबल फाल्ने काम भएको बताउँछिन् ।

सांसद थापा भन्छन् सहजीकरण गर्न गएँ

प्रतिपक्षी सांसदहरुले नाराबाजी गरिरहेको ठाउँमा पुगेका कांग्रेस सांसद थापाले भने मुख्यमन्त्रीमाथि हातपात हुने देखेपछि सहजीकरण गर्न गएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, कुनै अप्रिय घटना घट्छ कि भनेर गएको मात्रै हो । तर, साथीहरुले मलाई रोकेपछि फर्किहालेँ ।’

भर्खर सत्ताबाट बाहिरिएका पूर्वमन्त्री बस्नेतले आफ्नो हैसियत बिर्सिएर अभद्र व्यवहार गरेको सांसद थापाको प्रतिक्रिया छ । म त्यहाँ नपुग्दै च्यालेन्ज गर्नतिर लाग्नुभो’ उनले भने, ‘सत्ताको रश्वासदन गरेको मान्छे एक्कासी छोड्नुपर्दा गाह्रो भयो होला । यो एकदम अनुशासनहीन र घिनलाग्दो काम भयो ।’

यो सब तनावका बीच प्रदेशसभाले बहुमतका आधारमा विनियोजन विधेयक (बजेट) पास गरेको छ ।

३०,असार.२०७८,बुधबार २१:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्