
काठमाडौ । काठमाडौ पूर्वशिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जातीय छुवाछुतको विषयमा उनीविरूद्धको जाहेरी लिन सर्वोच्च अदालतले प्रहरीलाई दिएको आदेशबारे कुनै चासो नभएको बताएका छन्।
शुक्रबार बिहान कुरा गर्दै उनले त्यतातिर आफ्नो ध्यान नगएको बताए।
सञ्चारकर्मी रूपा सुनारले जातको आधारमा आफूलाई कोठा दिन इन्कार गर्ने घरबेटीलाई छुटाउन मन्त्री श्रेष्ठ प्रहरी चौकीमा गएको र आफूले उनीविरूद्ध जाहेरी दिँदा प्रहरीले लिन नमानेको भन्दै सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।
न्यायाधीशहरू प्रकाश सिंह राउत र नहकुल सुवेदीको इजलासले बिहीबार सुनारले दिएको रिटमा सुनुवाइ गर्दै श्रेष्ठविरूद्धको जाहेरी दर्ता गर्न आदेश दिएको हो।
‘निवेदिकाले सरस्वती श्रेष्ठविरूद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र उनी हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी श्रेष्ठ उपस्थित भइ हिरासतबाट निजलाई मन्त्रीको सवारी साधनमा लगी गएको भन्ने मिसिलबाट देखिएको,’ आदेशमा भनिएको छ,।
उक्त कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी यिनै निवेदिकाले कृष्णगोपाल श्रेष्ठ विरूद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएकाले दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू गराउनू।
श्रेष्ठले भने आफूले अहिलेसम्म जातीय छुवाछुतविरूद्ध लडेको दाबी गरे।
‘जिन्दगीभर दलित र छुवाछुतविरूद्ध आन्दोलन गर्दागर्दा आज यो उमेर भइसक्यो,’ उनले भने, किन त्यस्तो खालको गर्छन् त्यो पनि बुझ्दिनँ। ती मान्छे पनि चिन्दिनँ। म कसैलाई अन्याय भएको हेर्न सक्दिनँ। जसलाई अन्याय हुन्छ त्यसलाई माया गर्ने मेरो क्यारेक्टर हो। यत्ति हो।’
उनले आफूले भेदभाव गरेको कसैलाई लाग्छ भने थुनिदिए पनि हुने बताए।
‘लगेर थुन्न मन लागेको छ भने थुनिदिए पनि भैगौ। कृष्णगोपालले छुवाछुतको अन्याय गर्यो, दलितलाई अन्याय गर्छ भनेर राख्छ भने लगेर राखिदिए भैगौ नि’ उनले भने।
यस्ता विषयमा बहस गर्नु समयको बर्बादी गर्नुमात्र हुने पनि श्रेष्ठको तर्क छ।
‘यस्तो कुरामा समय बर्बाद गर्ने हो। बरू चार जना खोलामा बाढी आएको ठाउँमा सहयोग गर्न जाउँ न,’ श्रेष्ठले भने,‘दुख पाएको मानिसलाई राहत बाँड्न इनर्जी खर्च गरौं न बरू। दिक्क लाग्छ, कहिलेकाहीँ त तनाव हुन्छ। राम्रो सोच्ने मान्छेहरूको कल्याण हुँदो रहेन छ।
श्रेष्ठविरूद्ध रूपाले जेठ १७ गते नै प्रहरीमा जाहेरी दिएकी थिइन्। उक्त जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन।
‘सर्वोच्चको आदेशपछि अब त्यही दर्ता गर्छ होला नि,’ रूपाले भनिन्।
प्रतिक्रिया दिनुहोस्