महान्यायाधिवक्ताको शपथमा राष्ट्रपतिको उपस्थिति हुनै पर्ने व्यवस्था छैन्ः राष्ट्रपति कार्यालय

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्बबहादुर खातीको शपथ ग्रहण राष्ट्रपतिको कार्यालयमा नभएको र राष्ट्रपति उपस्थित नभएको भन्दै आलोचना भएकोप्रति राष्ट्रपति कार्यायलले आफ्नो ध्यानाकर्षण भएको बताएको छ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकाल्दै महान्यायाधिवक्ताले प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिने व्यवस्था भएको सम्झाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५२ को परिच्छेद ५ को दफा २१ मा महान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नुअघि सम्माननीय प्रधान न्यायाधीश समक्ष पद तथा गोपनियताको शपथ गर्नु पर्ने व्यवस्था रहेकोछ।’

विगतमा महान्यायाधिवक्ता लगायत संवैधानिक अंगका पदाधिकारीहरूको शपथ ग्रहण राष्ट्रपतिको उपस्थितिमा हुने गरेकोमा कोभिडलाई मध्यनजर गर्दै सर्वोच्च अदालतबाटै त्यसको आयोजना हुने व्यवस्था मिलाउन गत बैशाखमै पत्राचार गरिएको राष्ट्रपति कार्यालयले स्पष्ट पारेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा महान्यायाधिवक्ता लगायत संवैधानिक अङ्गका पदाधिकारीहरूको शपथ ग्रहण सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुँदै आएकोमा कोभिड-१९ विश्वव्यापी महामारीको अवस्थासमेतलाई मध्यनजर गरी यस कार्यालयबाट सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुनुपर्ने भनी व्यवस्था भएकोमा बाहेक सम्माननीय प्रधानन्यायाधीशज्यूबाट शपथ ग्रहण गराउने पदाधिकारीको शपथ ग्रहण श्री सर्वोच्च अदालतबाटै आयोजना हुने व्यवस्थाको लागि मिति २०७८-१-५ मा पत्राचार गरिएकोहो ।’

महान्यायाधिवक्ता खातीले आजै प्रधानन्यायाधीशी चोलेन्द्रशमशेर राणाबाट सर्वोच्च अदालतमा पद तथा गोपनीयताको सपथ लिइसकेका छन्।

१,श्रावण.२०७८,शुक्रबार २०:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्