
काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।
सभामुख अग्निप्रसाद सापकाेटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको १ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।
कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ ।
माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्