काठमाडौं । चर्को मिटर ब्याजमा पैसा दिएको अभियोगमा प्रहरीले काठमाडौंको चावहिलबाट एक जनालाई पक्राउ गरेको छ । दोलखाको साविक मेलुङ गाविस वडा नम्बर १ घर भई ललितपुरको भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई १९ करोडभन्दा बढीको चेकसहित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको हो ।
भक्तपुरको मध्यपुर थिमी बस्ने प्रकाश कार्की र काठमाडौंको कोटेश्वर बस्ने हेमरा गुमाजुलाई व्यक्तिगत कामका लागि उप्रेतीले चर्को मिटर ब्याजमा पैसा दिएको प्रहरीको भनाइ छ ।
उप्रेतीले पटक–पटक गरी कार्कीबाट चार करोड १६ लाख र गुभाजुबाट चार करोड १४ लाख रुपैयाँ रकमका चेकहरु लिई सो वापतको रकम नदिए ज्यान समेत लिने धम्की दिंदै आएको भन्दै पीडितहरुले जाहेरी दिएका थिए ।
उप्रेतीलाई खोजी गर्ने क्रममा शुक्रबार काठमाडौंको चावहिल मित्रपार्कस्थित दृशान्त अटोमोबाइल्सबाट पक्राउ गरेको व्यूरोका उपनिर्देशक श्यामकुमार महतोले जानकारी दिए । उनको साथबाट विभिन्न व्यक्तिका नाममा रहेको १९ करोड ४३ लाख ६१ हजार ८६० रुपैयाँ बराबरको चेकसमेत बरामद गरेको उनले बताए ।
उप्रेतीले अन्य व्यक्तिलाई पनि चर्को मिटर ब्याजमा रकम दिने गरेको बुझिएको प्रहरीले जनाएको छ । उप्रेतीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्