सुजिता भण्डारीको शव परिवारले २ सातापछि बुझे

चितवन । जंगलमा मृत भेटिएकी राप्ती ३ कि सुजिता भण्डारीको शव परिवारले २ सातापछि बुझेका छन् । हत्यारा सार्वजनिक नभएसम्म शव नलिने अडानमा रहेका परिवार तथा आफन्तले आज विहान शव बुझेका हुन् । बुबा र उनका आफन्तले शव बुझेका हुन् ।

चितवन प्रहरीका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले काठमाडाैंकाे महाराजगञ्जस्थित शिक्षण अस्पतालको शवगृहबाट परिवारले आज विहान शव बुझेको जानकारी दिए ।

असार ११ गते साथीलाई तरकारी लिन आउँदै छु भनेर म्यासेज गरी घरबाट निस्केकी सुजिता असार २० गते घर नजिकैकौ सामुदायिक वनमा मृत भेटिएकी थिइन् । घरबाट निस्केको करिब ६ घण्टापछि उनले आफू अपहरणमा परेको भन्दै दिदिसँग मोबाइलमा कुराकानी गरेकी थिइन् ।

वेपत्ता सुजिताको शव फेला परेपछि हत्या भएको आशंका गरिएको थियो । पोष्टमाटर्मको प्रारम्भिक रिपोर्टमा कुनै तथ्य फेला नपरेपछि भिसेरा परीक्षण थालिएको थियो । तर, भिसेरा परीक्षणको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।

स्थानीय स्रोतका अनुसार उनकाे आजै देवघाटमा दाहसंस्कार गरिनेछ । सुजिताकाे शव अहिले चितवन लगिँदै छ। प्रहरीले घटनाको तथ्यबारे केही दिनमा सार्वजनिक गर्ने बताएकाे छ ।

४,श्रावण.२०७८,सोमबार १०:५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्