
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई जतिसक्दो चाँडो (कोभिड १९) विरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
नेपाली समकक्षी शेरबहादुर देउवासँग आज भएको टेलिफोन संवादमा मोदीले भारतले दिन बाँकी १० लाख अस्ट्राजेनेका (कोभिसिल्ड) खोपको मात्रा जतिसक्दो चाँडो उपलब्ध गराउने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त संवादमा मोदीले देउवालाई बधाई तथा शुभकामना समेत दिएका थिए । साथै, द्धिपक्षीय हितलाई थप प्रगाढ बनाउने बारेमा पनि दुई समकक्षीबीच छलफल भएको जनाइएको छ ।
टेलिफोन संवादपछि भारतीय प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्दै (कोभिड १९) महामारीविरुद्ध दुई मुलुक मिलेर लड्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन् । वृहत हितका साझा विषयमा समेत मिलेर अघि बढ्ने दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।
भारतले नेपाललाई १० लाख डोज अस्ट्राजेनेका खोप दिन बाँकी छ । भुक्तानी लिइसकेर पनि भारतले खोप आपूर्ति गरेको छैन । संसदमा विश्वासको मत हासिल गरेपछि मोदीले आइतबार राती देउवालाई ट्वीटमार्फत बधाई दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्