गण्डकीमा आज मन्त्रिपरिषद बिस्तार गरिँदै

पाेखरा । गण्डकी प्रदेशमा आज मन्त्रिपरिषद बिस्तारको तयारी छ। जेठ २९ मा मुख्यमन्त्री बनेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका थिएनन्।

उनले कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङलाई भने यसअघि नै मन्त्री बनाइसकेका थिए। यसबीचमा काठमाडौं आएर उनले गठबन्धनका दलसँग छलफल गर्दै मन्त्रिमण्डल बिस्तारमा सहजीकरण गरिदिन कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग आग्रह गरेका थिए।

गण्डकीमा शुक्रबार दिउँसो मन्त्रिमण्डल बिस्तार गर्ने कार्यक्रम छ। माओवादीबाट थप ३ जना मन्त्री हुँदैछन्।

अर्थ मन्त्रीमा माओवादीले रामजी बराललाई बनाउन पठाउने भएको छ। वन मन्त्रीमा दीपक चर्ती मगर र कृषि मन्त्रीमा चन्द्रबहादुर बुढाले सपथ लिने तयारी छ। यसअघि माओबादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा मधुमाया अधिकारी नियुक्त भएकी थिइन्।

कांग्रेसले भने अहिलेसम्म मन्त्री टुंगो लगाउन सकेको छैन। तर कांग्रेसले राख्ने मन्त्रालय भने टुंगिएको छ। कांग्रेसले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय आफूसँगै राख्ने भएको छ।

यस्तै शिक्षा, प्रविधि तथा सामाजिक विकास, पर्यटन तथा कानुन मन्त्रालय पनि कांग्रेससँग हुनेछ। यसअघि कांग्रेसबाट कुमार खड्का सामाजिक विकास मन्त्री भइसकेका छन्। उनी सरकारको प्रवक्ता पनि हुन्।

उनकाअनुसार आज दिउँसो १ बजेसम्म मन्त्रिमण्डल बिस्तार गरी आजै मन्त्रीहरूको सपथ गर्ने सम्भावना छ। गण्डकीमा नेकपा एमालेबाहेक अरू दलको गठबन्धनबाट सरकार बनेको छ। मुख्यमन्त्री नेपालीलाई विश्वासको मत दिएको राष्ट्रिय जनमोर्चा भने सरकारमा गएको छैन।

एमाले प्रमुख प्रतिपक्षमा छ। पृथ्वीसुब्बा गुरूङको सरकार ढालेर तत्कालीन विपक्षी गठबन्धनले नयाँ सरकार बनाएका थिए। आन्तरिक किचलोका कारण एक महिना भइसक्दा पनि पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको थिएन।

गण्डकीमा मन्त्रिपरिषद बिस्तारबारे खुमलटारमा बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठबीच पनि कुराकानी भएको थियो।

८,श्रावण.२०७८,शुक्रबार ०८:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्