वागमती सरकारको सेवा, राजश्व तिर्न अब यातायात कार्यालयमा लाइन बस्नु पर्दैन

काठमाडौं । वागमती प्रदेशमा अब सवारीसम्बन्धी कामका लागि लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत दिइने सेवाहरू अनलाइन प्रणालीमार्फत शुरू गरेको छ ।

यो सँगै आजबाट सवारी साधनको लाइसेन्स र ब्लुबुक नविकरण, बीमालगायतका काम अनलाइनबाटै हुनेछन् । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अनलाइन पेमेन्ट सिस्टम प्रविधिको प्रयोग गरी नयाँ प्रविधिको उद्घाटन गरे ।

सेवाग्राहीको लागि सहज बनाउन प्रदेश सरकारले नयाँ प्रविधि प्रयोगमा ल्याएको भन्दै मुख्यमन्त्री पौडेलले भने, ‘भ्रष्टाचारर रोक्नका लागि प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सेवा दिन शुरू भएको छ । अब यातायात क्षेत्रका सबै समस्या सामाधान हुँदै जाने छ ।

नयाँ प्रविधिमा केही असहजता आए पनि त्यसलाई मिलाएर लैजाने छौं । निवर्तमान प्रधानमन्त्रीले भने अनुसार नै प्रदेश सरकार डिजिटल प्रविधिमा गएको छ । डिजिटल वागमती भनेअनुसार नै प्रदेश सरकार अगाडि बढेको आजबाट देखिएको छ । प्रविधिमैत्री प्रदेश बनाउन सबैको सहयोमा मात्रै सफल हुनसक्ने छ ।’

भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री रामेश्वर फुयालले अब यातायातको सबै काम घरमा नै बसेर गर्न सकिने बताए । उनले भने, ‘वागमती प्रदेश सरकारले सेवाग्राहीलाई सहज होस् भनेर सबै काम अनलाइनबाट नै हुने गरी अनलाइन प्रणालीको शुरू गरेको छ । प्रदेश सरकारले अब विद्युतीय गाडी सञ्चालनलाई पनि प्राथमिकता दिनेछ ।’

वागमती प्रदेश सरकारको यातायात कार्यालयको वेबसाइटमा गएर यातायात सम्बन्धी सबै काम गर्न सकिने छ । अनलाइन भेटघाट, सवारी नामसारी, सवारी बीमा, आफूले तिर्नु पर्ने करको जानकारी त्यहीँबाट पाउन सकिन्छ । अनलाइनबाट कर तिर्दा र बीमा गर्दा प्राप्त क्यूआर कोर्ड सवारीसाधनमा टाँसेर वा बोकेर हिँड्न सकिनेछ । ट्राफिक प्रहरीले पनि त्यही क्यूआर कोर्ड प्रयोग गरेर सवारी चेकजाँच गर्न सक्नेछन् ।

वागमती प्रदेश यातायात कार्यालयको वेबसाइटमा गएर सवारीधनीले आफ्नो नम्बर राखेर खाता खोल्न सक्ने छन् । त्यसभित्र अनलाइन सवारी कर आउँछ । त्यहाँ गएर आफूले तिर्नु पर्ने करको विवरण हेरेर भुक्तानी गर्न सकिनेछ । सवारीधनीको विवरण पनि यसैबाट अद्यावधिक या सच्याउन सकिनेछ ।

यातायात कार्यालयका उपसचिव नेत्रप्रसाद अधिकारी अनलाइन प्रणालीले कार्यालयमा भीडभाड हट्नुका साथै सेवाग्राहीलाई पनि सहज हुने बताए । अधिकारीले भने, ‘कुनै समस्या आएर यातायात कार्यलय नै जानुपरेमा अनलाइनबाट टोकन लिएर समय तोकेर जान सकिने छ । काठमाडौं, भक्तपुर, मकवानपुर र भरतपुरमा भएको ६ वटै कार्यलयको सबै काम अनलाइनबाट नै हुन्छ ।’

प्रदेशका ६ वटै कार्यलयका प्रमुखले अनलाइनबाट काम गर्न करार पत्रमा हस्ताक्षर गरेका छन् ।

वागमतीका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव संजीव वरालले प्रदेश सरकारको योजना अनुसार प्रविधिको प्रयोग गरेर अगाडि बढेको बताए । वरालले भने, ‘यातायात सूचना प्रणाली (टीएमएईएस) सेवा आजबाट शुरू भएको छ ।

ट्रक्स क्याल्कुलेटर पनि हुन्छ, त्यही बाट आफूले तिर्नुपर्ने राजस्व तिर्न सकिने छ । अब पहिले जस्तो काममा ढिला नहुने र प्रक्रियामा पनि झन्झट हुँदैन । अनलाइनबाट नै सुधारिएको बिलिङ प्रणालीमा गएर आफुले राजस्व तिर्न सकिने छ । बिचौलियाबीना यातायातको काम नै हुँदैन कि भन्ने कुरा थियो । अब त्यो प्रश्नलाई अनलाइनबाट नै काम गर्दै चिरेका छौं । सवारीधनीले आफ्नो सवारीको तथ्यांक भने राख्नु पर्नेछ ।’

८,श्रावण.२०७८,शुक्रबार १४:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्