वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट सङ्कटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन् । शनिबार दोलखाको चरिकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रहसमेत गरे ।

“सङ्कटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानका लागि व्यवसाय र व्यावसायिक गतिविधिहरूलाई चलायमान बनाउन जरुरी हुन्छ । यसका लागि अहिलेलाई खोप नै प्रमुख उपाय देखिएको छ । त्यसैले नयाँ सरकारसँग मेरो अनुरोध छ छिटोभन्दा छिटो सबै जनतालाई खोपको व्यवस्था गरौँ, ” उनले भने ।

कोभिडपछि नेपालको पर्यटन व्यवसाय तहसनहस बनेको बताउँदै, ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले हालै मात्र बैङ्कले वार्षिक/अनिवार्य बिदा लिने बैङ्कका कर्मचारीहरूले कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरूमा अनिवार्य रूपमा भ्रमण गर्नुपर्ने व्यवस्था गरेको बताए ।

“कोभिडको महामारी कम नभई तत्कालका लागि विदेशी पर्यटकहरू आउने सम्भावना पनि कम रहेकोले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैङ्कले यो योजना ल्याएको हो । कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरूको खाँचो रहेको छ, ” उनले भने । राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै, उनले कर्पोरेट हाउस, बैङ्क तथा वित्तीय क्षेत्रहरूले पनि यसै गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्न सकेमा नेपालको पर्यटन क्षेत्र लयमा फर्कन धेरै समय नलाग्ने समेत बताए ।

दोलखा जिल्लामा लगानीको सम्भावना निकै धेरै रहेको बताउँदै त्यसमा निजी क्षेत्रको छाता सङ्गठनको वरिष्ठ उपाध्यक्षको हैसियतमा वा एक जना लगानीको कर्ताको हैसियतमा जस्तो सुकै तरिकाबाट पनि आफ्नो सहभागिता रहने र त्यस्ता सम्भावित परियोजनाहरूमा आफूले लगानी गर्ने उनले बताए ।

९,श्रावण.२०७८,शनिबार १७:४१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्