जनप्रतिनिधिले अर्थ, ऊर्जा मन्त्रीलाई भेटेर बूढीगण्डकी मुआब्जा र अवरूद्ध बाटो खुलाउन गरे माग

गोरखा । गोरखाको दुइटा गाउँपालिका प्रमुखले अर्थमन्त्री र ऊर्जा मन्त्रीलाई भेटेर बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावितलाई सहयोग गर्न तथा उत्तरी गोरखा जोड्ने पैदल मार्ग पुनर्निर्माण गर्न सहयोगको आग्रह गरेका छन्।

धार्चेका अध्यक्ष सन्तोष गुरूङ र आरूघाट गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले आइतबार अर्थमन्त्री जनार्दन शर्मा तथा ऊर्जा मन्त्री पम्फा भुसाललाई भेटेर अवरूद्ध बाटो खुलाउन सहयोगको आग्रह गरेका थिए।

बाढीपहिरोले उत्तरी गोरखा जोड्ने बाटो बूढीगण्डकीले भत्काएको छ। धार्चेको माछाखोलादेखि यारूबगरसम्म विभिन्न ठाउँमा पैदल मार्ग भत्केको छ।

यस्तै उनीहरूले बूढीगण्डकी आयोजनाका प्रभावितलाई छिटो मुआब्जालगायत उपलब्ध गराउन ऊर्जामन्त्रीको ध्यानाकर्षण गराएका थिए। आरूघाट गाउँपालिका पनि बूढीगण्डकी आयोजना प्रभावित क्षेत्रभित्र पर्छ।

अर्थ र ऊर्जा मन्त्रीलाई भेट्न नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू चीनकाजी श्रेष्ठ र कमला पन्त, कांग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेलगायत पुगेका थिए।

गोरखाका जनप्रतिनिधिहरूले अवरूद्ध बाटो मर्मत गर्न र बूढीगण्डकीका समस्या समाधानका लागि मन्त्रीहरूको ध्यानाकर्षण गराएको गुरूङ बताउँछन्।

११,श्रावण.२०७८,सोमबार ०७:०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्