प्रदीप ज्ञवालीले भने, ‘एमाले एकता १० दिनमा टुंगिन्छ, माधव कमरेडलाई कुरेर बस्दैनौं’

रुपन्देही । पूर्वमन्त्री तथा नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक साताभित्रै पार्टी एकताको टुंगो लागिसक्ने बताएका छन् ।

सोमबार पाल्पामा पार्टी अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेता ज्ञवालीले कार्यदलले तयार पारेको १० बुँदे आधारमा रहेर एकता अघि बढ्ने बताए । ‘माधव कमरेडलगायतका साथीहरू तत्काल नआए पार्टी एकताको ढोका खुला राख्दै अघि बढ्छौं जुन दिन पाटीमा फर्किनुहुन्छ सोही दिन पुरानै जिम्मेवारी दिइन्छ । तर, अब कुरेर बस्ने स्थिति छ ।’

विपक्ष दलको नेतालाई सरकार बनाउँदासम्म पनि पार्टी एकता जोगाउन वर्तमान पार्टी अध्यक्षले भूमिका खेलेपनि एकतामा नआउनु भनेको एकता नचाहेको अर्थ बुझिने नेता ज्ञवालीले टिप्पणी गरे ।

वर्तमान गठबन्धनले नेकपा एमालेलाई कमजोर बनाउने, फुटाउने, राष्ट्रिय राजनीतिमा भूमिकाविहीन बनाउने, विभिन्न प्रलोभन दिएर संसाद खरिदबिक्री गर्ने, संसदलाई निष्क्रिय बनाउने फोहोरी र अनैतिक काम गरेको एमाले प्रवक्तासमेत रहेका ज्ञवालीको आरोप छ ।

सत्तागठबन्धनले दलको एउटै चाहना एमालेलाई कमजोर बनाएर राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा लैजान खोजे पनि एमालेले त्यसो हुन नदिने उनले बताए ।
सर्वोच्च अदालतले गरेको फैसला गलत, संविधानविपरीत, संविधानको अपव्याख्या भएकाले कार्यकर्तालाई गाउँगाउँमा पुगी भण्डाफोर गर्नसमेत ज्ञवालीले आग्रह गरेका छन् ।

११,श्रावण.२०७८,सोमबार १४:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्