
काठमाडौँ । नायिका तथा युवा कलाकार शिवाङ्गिनी राणाको प्रथम एकल चित्रकला प्रदर्शनी ‘बोल्ड एन्ड ब्यूटिफूल’ सिद्धार्थ आर्ट ग्यालरीमा सञ्चालन भइरहेको छ ।
कलाकार शिवाङ्गिनीले खासगरी एक्रेलिक रंग माध्यम पछ्याउँदैे प्रकृति र तिनका मौसमे प्रबृत्तिलाई अर्धमूर्त र अमूर्त शैलीमा प्रस्तुत गर्नुभएको छ । नेपाली चलचित्र ‘मधुमास’ की नायिका शिवाङ्गिनीले वीन्टर रोज, गार्डेन अफ इभ, होप, पिङ्क स्काई, ब्रेकिङ साइलेन्स, बटरफ्लाई अब्स्ट्राक्टेड, फायर एन्ड आइस, बोल्ड एन्ड ब्यूटिफूल, डान्स अफ द वर्ड, ग्यालेक्सीजस्ता शीर्षक शृङ्खलामा बनाउनु भएका ५५ वटा चित्रकृति प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीमा राखिएका ७० प्रतिशत चित्रकला बिक्रीबाट उत्साहित कलाकार शिवाङ्गिनीले भन्नुभयो, “म व्यवसायिक कलाकार नभए पनि चलिआएको कला प्रबृत्तिभन्दा पृथक शैलीमा काम गर्छु, जसलाई कलापारखीहरुले मन पराइदिनुभएको छ । यसमा म ज्यादै खुशी छु ।”
होटल व्यवसाय, इभेन्ट म्यानेजमेन्ट कम्पनी, आर्ट स्टुडियो, सामाजिक सेवालगायत धेरै क्षेत्रमा सक्रिय कलाकार शिवाङ्गिनीले चित्रमा सामाजिक विषयवस्तुलाई समेत उठाउनुभएको छ । भोज र पाटीमा जीउ ढाकिनेगरी महिलाले किन गहना लगाउँछन् भन्ने सानैदेखि उम्रिएको जिज्ञासालाई कलाकार शिवाङ्गिनीले ‘गहना’ शृङ्खलामा उतारीएको छ ।
एक वर्षअघि पहिलोपटक नेपालगञ्जस्थित होटल बाटिकामा ‘आर्ट ग्यालरी’ खोलेर कला क्षेत्रको प्रवद्र्धन र विकासमा समेत सक्रिय शिवाङ्गिनीले सोही समयमा विमल प्रधानसँग मिलेर संयुक्त कला प्रदर्शनी गरीएको थियो । प्रदर्शनीका हिसावले नयाँ भए पनि चित्रकलामा सात वर्षदेखि उहाँ सक्रिय हुनुहुन्छ ।
उहाँका करिव तीन सय वटा कलाकृति नेपालका विभिन्न सहर, अमेरिका, बेलायत, अष्ट्रेलिया, भारतलगायत देशमा सङ्ग्रहित छन् । नायिका मनिषा कोइरालाले असार २५ मा उद्घाटन गर्नुभएको प्रदर्शनी साउन १५ गतेसम्म सञ्चालन हुने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्