रावलको दावी, मन्त्री बन्नका लागि केपी ओली छाडेकाहरूले मुसा प्रवृत्ति देखाउँदै छन्

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद झपट रावलले केपी ओली सत्ताबाट हटेपछि केही सांसदले मन्त्री बन्ने अवसर छोप्न मुसा प्रवृत्ति देखाएको आरोप लगाएका छन् ।

माधव नेपाल पक्षधर सांसद रावलसहित एमालेका १० जना सांसदले शेरवहादुर देउवालाई विश्वासको मत दिने बेला पार्टी एकता जोगाउन भन्दै मतदानमा भाग लिएका थिएनन् ।

तर केपी ओली पक्षमा रहेका प्रेम आले, किसान श्रेष्ठ, हिराचन्द्र केसी, धनबहादुर बुढासहित ८ जना सांसदले माधव नेपालसँगै देउवालाई विश्वासको मत दिएका थिए । उनीहरूप्रति लक्षित गर्दै रावलले मन्त्री पदको लागि अवसर खोज्दै हिँड्ने मुसा प्रवृत्ति भएको बताएका छन् ।

रावलले वक्तव्यमा भनेका छन्, ‘हिजो प्रतिगमनको मतियार बनेका र पार्टी अध्यक्षलाई प्रतिगामी कदम चाल्न उक्साउने स्वार्थी अवसरवादीहरू केपी ओली सत्ताबाहिर गएपछि मुसा प्रवृत्ति देखाइरहेका छन् । उनीहरू अहिले कोही हामी एमाले होइनौं भन्दै अदालततिर धाइरहेका छन् भने कोही मन्त्री पदको लागि अवसर खोज्दै छन् । अन्य मतियारहरूको कुरै नगरौं ।’

रावलले आफूहरँको लडाइँ संसद जोगाउन थियो, मन्त्री बन्नका लागि होइन भन्दै एमालेका २३ जना सांसदकै कारण संसद जोगिएको दावी गरेका छन् ।

वैशाख २७ मा केपी ओलीले विश्वासको मत लिने बेला अनुपस्थित भएका २८ जना र अदालतमा गएका २३ जना सांसदको प्राथमिकता अब एमाले जोगाउने रहेको भन्दै कसैको उक्साहटमा नलागी केपी ओली र माधव नेपालबीच संवाद हुनुपर्ने बताएका छन् ।

रावलले भनेका छन्, ‘सुदृढ र सबल नेकपा एमालेको विकल्प छैन । आयाराम गयारामहरुको उक्साहटमा कोही पर्न हुन्न ।’ माओवादीबाट एमाले बनेका र हाल अदालतमा रिट लिएर गएका नेताहरूप्रति पनि उनले कटाक्ष गरे ।

१४,श्रावण.२०७८,बिहीबार १५:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्