निषेधाज्ञा खुकुलो भएसँगै मकवानपुरमा कोरोना संक्रमण दर उच्च

मकवानपुर । मकवानपुरमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमणको जोखिम झनै बढेको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले गत बैशाख १९ गतेदेखि जारी गरेको निषेधाज्ञा हालसम्म पनि कायम नै रहेको छ ।

निषेधाज्ञा कायम रहेपनि प्रशासन कार्यालयले साउनको सुरुवातदेखि अत्यावश्यक क्षेत्रसहित बजार र व्यवसाय संचालनको लागि केही सहज बनाउन निषेधाज्ञालाई केही खुकुलो बनाएसँगै कोरोना संक्रमणको दरपनि बढेको छ ।

मकवानपुरमा आगामी साउन २४ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । मकवानपुरमा पर्यटन क्षेत्र, धार्मिक क्षेत्र, खेलकुद क्षेत्र, मनोरञ्जन क्षेत्र, चलचित्र तथा सिनेमा हल लगायतका क्षेत्र पूर्ण रुपमा बन्द रहेका छन् भने अन्य सबै क्षेत्रहरु संचालनमा रहेका छन् ।

मकवानपुरमा अत्यावश्यक सामग्री विक्री गर्ने व्यवसाय विहान ४ बजेदेखि ११ बजेसम्म र अन्य व्यवसायहरु विहान ११ बजेदेखि ६ बजेसम्म संचालन गर्न प्रशासनले अनुमती दिएको छ ।

सार्वजनिक यातायातको हकमा भने विहान ६ बजे देखि साँझ ७ बजेसम्म संचालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

निषेधाज्ञा खुकुलो बनाए लगत्तै मकवानपुरमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढि रहेको स्वस्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

२४ घण्टामा ४ सय ३२ जनामा संक्रमण पुष्टि
मकवानपुरमा पछिल्लो २४ घण्टामा मात्र ४ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार वितेको २४ घण्टामा पि.सि.आर र एन्टिजेन विधिबाट १ हजार १ सय ४५ जनाको कोरोना परिक्षण गर्दा ४ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा सबै भन्दा बढी भीमफेदी गाउँपालिकाका ३ सय ६२ जना रहेका छन् ।
त्यस्तै हेटौंडा उपमहानगरपालिकाका ५७ जना, मकवानपुरगढी गाउँपालिकाका ३ जना, थाहा नगरपालिका र राक्सिराङका १/१ जना, मनहरी गाउँपालिकाका ६ जना र बेकैयाका २ जनामा संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमितको संख्या १ हजार नजिक
मकवानपुरमा कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या करिव १ हजार नजिक पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार मकवानपुरमा कोरोना संक्रमण पुष्टि भएको सक्रिय संक्रमितको संख्या ९ सय ८० जना रहेको छ ।

संक्रमण पुष्टि भएका मध्ये संस्थागत आइसोलेसनमा २१ जना बसेका छन् भने होम आइसोलेसनमा ९ सय ३१ जना रहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

२८ जना संक्रमितहरु हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत रहेको उनले बताए ।

१ सय ४२ जनाको मृत्यु
मकवानपुरमा कोरोना संक्रमणका कारण हालसम्म १ सय ४२ जनाको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमणको पहिलो लहरदेखि हलसम्म संक्रमणका कारण सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १ सय १ जनाको मृत्यु भएको छ ।

त्यस्तै थाहा नगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपालिकाका ५ जना, बागमती गाउँपालिकाका ४ जना, कैलाश गाउँपालिकाका १ जना, मनहरी गाउँपालिकाका ११ जना, भीमफेदी गाउँपालिकाका ५ जना, बकैयाँ गाउँपालिकाका ४ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना संक्रमणका हेटौंडाका एक जनाको मृत्यु भएको छ ।

१६,श्रावण.२०७८,शनिबार १२:३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्