उमेश श्रेष्ठ जनार्दन शर्मावीच पुरानो ‘मित्रता’, झम्सिखेलमा उमेशले किन दिए अर्थमन्त्रीलाई उपहार बंगला

ललितपुर । ललितपुर झम्सीखेलस्थित डिएभी स्कुल आडको सानो गल्लीभित्र अग्लो पर्खालले घेरिएको एउटा बंगला छ। मूल गेटका दुईतिर सुरक्षाकर्मीका लागि बनाइएका ‘सेन्ट्री’ स्टेशन। वरिपरी ठूला–ठूला रुखहरूले घेरिएको त्यो घरको आँगनमा अहिले केही कार्यकर्ताहरू बसिरहेका देखिन्छन्। सेन्ट्री घरमा सुरक्षाकर्मी भने छैनन्। ‘घरमूली’ जनार्दन शर्मा ‘प्रभाकर’ अर्थमन्त्री बनेर मन्त्री निवास सरेपछि अहिले यो घर सुनसान छ।

करिब चार वर्षदेखि जनार्दन शर्मा बस्दै आएको त्यो घर हालका स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले शर्मालाई ‘आवास उपहार’ स्वरुप दिएका हुन्। श्रेष्ठ भने नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् र अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन्। त्यो मन्त्रालय भने देउवा आफैँले राखेका छन्।

सर्वोच्च अदाललतको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका देउवाले सपथ लिएको २० दिनसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्। उनको पार्टी नेपाली कांग्रेस र उनलाई समर्थन दिएका अरू दलहरूबीचको गठबन्धनमा मन्त्रीहरू बनाउने विषयमा कुरा मिल्न सकेको छैन। तर त्यही बीचमा कसैसँग पनि सल्लाह नगरेर देउवाले शिक्षा र स्वास्थ्य अनि अरु पनि थुप्रै व्यापारमा ठूलो लगानी गरेका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाए। देउवाको त्यो कदम धेरै आलोचित भइरहेको छ। उनकै पार्टीका नेता तथा गठबन्धनका अरू पनि दलले त्यसको विरोध गरेपछि भने देउवाले आगामी दिनमा ‘त्यस्तो’ नहुने प्रतिवद्धता नै गर्नुपर्‍याे।


कांग्रेसको छाँयामा माओवादी नेतालाई रिझाउँदै सत्तारोहणसम्म

कुनै बेला एमालेका कार्यकर्ता रहेका श्रेष्ठले माओवादीलाई पनि खुब रिझाए। पछि दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सांसद भए र अहिले पनि कांग्रेसकै सांसद छन्। ४२ वर्षअघि भोजपुरबाट काठमाडौं आएका जागिरे श्रेष्ठ अहिले अर्बौ लगानी गर्नसक्ने व्यापारी भइसकेका छन्। नेपालकै नाम चलेको स्कुल लिटिल एन्जल्सका उनी संस्थापक सञ्चालकमध्येकै एक हुन्। शिक्षा तथा धेरै अस्पतालहरूमा पनि उनको लगानी छ। अस्पतालपछि हाइड्रोपावर र होटेल व्यवसाय अनि बैंकहरूमा पनि उनको धेरै लगानी छ।

राजनीतिक दाउमा खेल्नसक्ने श्रेष्ठले नेपाली कांग्रेस छिरेको केही वर्षमै मन्त्री बन्ने सौभाग्य पाए। तर काँग्रेस आवद्धताका पछिल्ला वर्षमा पनि उनको माओवादी–केन्द्रित लगानी उल्लेख्य देखिन्छ। संयोग त अहिले कस्तो पनि मिलेको छ भने पैसा निकासा गर्ने अर्थ मन्त्रालयमा जनार्दन शर्मा ‘प्रभाकर’ छन्। अनि महामारीका बेलामा स्वास्थ्य नीति बनाउनेदेखि स्वास्थ्य सामग्री खरीद गर्नेसम्मका काम गर्ने स्वास्थ्य मन्त्रालयमा श्रेष्ठ राज्यमन्त्री भएर चाबी हातमा लिएका छन्। अर्थमन्त्री शर्मा र राज्यमन्त्री श्रेष्ठबीचको अरु सम्बन्ध पनि यसैगरी मौलाउँदै गएका छन्।

शान्ति प्रक्रियामा आएदेखि नै श्रेष्ठ माओवादी नेताहरूसँग नजिकिँदै आएका थिए। त्यसैक्रममा माओवादी लडाकुहरूको लगानी रहेको ‘जनमैत्री’ अस्पताल ‘टेकओभर’देखि शर्मालाई आलिसन आवास व्यवस्थै गरिदिए, श्रेष्ठले। झम्सीखेलको आँगन रेस्टुरेन्टसँगै जोडिएको त्यो घरजग्गा एक स्थानीय राणा परिवारको स्वामित्वमा थियो। ११ आना जमिनसहितको उक्त सम्पत्ति किनेर उमेशले २०६९ फागुन ९ गते आफ्ना भाइ राजेशकुमार श्रेष्ठको नाममा पास गराएका थिए।

स्वामित्व हस्तान्तरणलगत्तै त्यहाँ अर्थमन्त्री जनार्दन शर्मा बस्न थालेका हुन्। राजेशले पनि दाजुकै व्यापारमा सहयोग गर्दै आएका छन्। उमेशले सित्तिमित्ति आफ्नो सम्पत्ति र लगानी गरेका व्यवसायमा देखिनेगरी आफ्नो नाम भने जोड्दैनन्। धेरैजसो आफन्तहरूमार्फत नै लगानी गर्छन्।

आयोमेलले यसबारेमा घर तथा सम्पत्तिका मालिक राजेशलाई पनि सम्पर्क गर्न खोजेको थियो। तर यस विषयमा उनी धेरै कुरा गर्नै चाहेनन्। उनले त्यो घरमा जनार्दन शर्मा लामो समयदेखि ‘भाडा’मा बस्दै आएको बताए। ‘हो उहाँ धेरै पहिलादेखि नै त्यो घरमा रेन्टमा बस्दै आउनुभएको छ’ यत्ति भनेर उनले फोन काटिदिए र त्यसपछि मोबाइलको स्वीच अफ गरिदिए।

स्थानीय तह संचालन ऐन र घर बहाल कर व्यवस्थापन कार्यविधि अनुसार घर भाडा लगाएपछि त्यसको राजस्व स्थानीय सरकारलाई तिर्नुपर्छ। तर मन्त्री शर्मा बहालमा रहेको घरको राजस्व अहिलेसम्म नतिरिएको तथ्य आयोमेलले फेला पारेको छ। ललितपुर महानगरपालिकाका अनुसार घर निर्माणदेखि अहिलेसम्म घर–धनी वा बहाल अर्थात भाडामा बस्ने कसैले घर बहाल दस्तुर तथा राजस्व तिरेको छैन्। यो घर ललितपुर महानगरपालिका वडा नं. ४ ‘क’मा पर्छ। कित्ता नं. ८०६को ११ आना जमिनमा बनेको त्यो घर भाडामा लिएर बसे-बसाएवापत अहिलेसम्म कसैले पनि घरबहाल कर तिरेको छैन।

आयोमेलले वडा कार्यालयमा बुझ्दा घर निर्माण भएदेखि अहिलेसम्म यसको कुनै कर तिरेको रेकर्ड भेटिएन। जबकि घर भाडामा लगाइसकेको एकीन पछि वा सम्झौतापछि घरको सम्झौता पत्रसहित स्थानीय तहलाई जानकारी गराउनु पर्ने हुन्छ र त्यसको कर तिर्नुपर्ने हुन्छ। त्यो कुनै पनि प्रक्रियाको रेकर्ड वडामा छैन।

व्यापारीका घरमा नेता ठूला व्यवसायीले दिएको घरमा बस्ने माओवादी नेता जनार्दन शर्मा एक्ला त्यस्तो नेता भने होइनन्। कुनै बेला मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा पूर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहालसँगै ‘डाइनिङ टेबल मिटिङ’ को तस्विर खुब चर्चामा आयो। एकजना सवारी चालकले त्यो तस्विर सार्वजनिक गरेका थिए। पटक–पटक कालो सूचीमा परिरहने ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा प्रचण्ड बस्दै आएका छन्। व्यापारी अजयराज सुमार्गी र प्रचण्डको सम्बन्ध त धेरै पुरानो नै हो। उनी सुरूमा सुमार्गीकै एकजना आफन्तको नाममा रहेको लाजिम्पाटस्थित घरमा करिब ६ बर्ष बसेका थिए। साभार अायाेमेलबाट

१८,श्रावण.२०७८,सोमबार १७:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्