जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी सुजिता ठाकुरको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले उनका बाबु कामेश्वर पाण्डेलाई पनि पक्राउ गरेको छ ।
जेठ २० गते राति भएको सुजिताको हत्यामा बाबुको संलग्नता देखिने केही प्रमाण फेला परेकाले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी प्रकाश विष्टले सुजिताका बाबुले उनको हत्याका लागि देवर रुपेशलाई उक्साएको तथ्य फेला परेको बताए । ‘अनुसन्धानका क्रममा यस्तो अडियो फेला परेको छ,’ डीएसपी विष्टले भने ।
सुजिताको हत्यापछि देवर रुपेशले जेठ २५ गते सुजिताका बाबु कामेश्वरलाई जानकारी समेत गराएको पाइएको प्रहरीको भनाइ छ । ‘मेरो छोरी बदमास भइसकेकी, इज्जत प्रतिष्ठा फाली, भनेर मार्ने काममा उनले सहमति दिएको जस्तो देखिन्छ,’ विष्टले भने ।
रुपेशले हत्या गरेर जानकारी गराएपछि कामेश्वरले हत्याको घटना लुकाउन रुपेशसँग बार्गेनिङ गरेको देखिएको पनि विष्टले बताए । सुजिताको हत्याको खबर पाएपछि कामेश्वरले बच्चाको नाममा जग्गा राखिदिनुपर्ने भनेर बार्गेनिङ गरेको र केही सीप नलागेपछि अरु व्यक्तिमार्फत प्रहरीमा आएको देखिएको डीएसपी विष्टले बताए ।
प्रहरीले सुजिताकी नन्द अञ्जु ठाकुर र जनकपुरधाम उपमहानगरपालिका–२४ कुटी पोखरी बस्ने ५५ वर्षीय प्रमोद मण्डललाई पनि पक्राउ गरेको छ । सुजिताकी नन्द अञ्जुलाई समेत रुपेशले हत्यालगत्तै फोन गरेर जानकारी गराएको र अञ्जुले पनि यो कुरा लुकाएको प्रहरीको भनाइ छ ।
प्रमोदले भने हत्या गरिएकी सुजिताको शव खेतमा गाडेको र २९ गते त्यहाँबाट उत्खनन् गरी ५ सय मिटर टाढाको सेफ्टी ट्यांकीभित्र लुकाउन संलग्न देखिएको प्रहरीको भनाइ छ ।
यसरी भएको थियो हत्या
प्रहरीका अनुसार गत जेठ २० गते बिहान ८ देखि ९ बजेको बीचमा रुपेशले भाउजू सुजिता देवी ठाकुरको कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक्काई घाँटीसमेत थिची हत्या गरेका थिए ।
हत्यापछि दिनभरि शवलाई सुजिताकै पलङमा छोपेर कोठामा ताल्चा लगाई राखेको र साँझ ट्याक्टरमा राखी खेतमा खाल्टो खनी गाडेको प्रहरीले बताएको छ ।
जेठ २० गते राति गाडेको शव जेठ २९ गते मध्यराति पुनः खनेर रुपेशले अर्को ठाउँमा सारेका थिए । पहिला गाडिएको ठाउँबाट झिकेर ५ सय मिटर टाढा काठ गोदाम नजिकै निर्माणाधीन सेप्टिक ट्याङ्कीमा खाडल खनी पुरेको प्रहरीको भनाइ छ । प्रहरीले असार २७ गते यही ठाउँबाट शव निकालेको थियो ।
यो घटनामा संलग्न भएका मृतक सुजाताका देवर रुपेशसहित चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । रूपेश, उनकै गाउँका ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्