
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठन गर्न माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको शुरुमै एमाले सांसदहरुले उठेर विरोध गरे । त्यसपछि सभामुखले समय दिएपछि एमालेको तर्फबाट धारणा राख्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले दार्चुला घटनाबारे संसदीय छानविन समिति गठनको माग गरे ।
साथै उनले दार्चुला घटनाबारे अविलम्ब भारतसँग औपचारिक विरोध जनाउन र दोषी भारतीय सुरक्षाकर्मी (एसएसबी)लाई मानव हत्या गरेको अभियोगमा कारबाहीको माग गरेका छन् । ‘दार्चुला घटनाबारे सरकारले अविलम्ब भारतसँग औपचारिक विरोध जनाओस्, दोषी एसएसबीलाई मानव हत्या गरेको अभियोगमा कारबाही होस्,’ उनले भने ।
सरकारले दार्चुला घटनाबारे भारतीय राजदूतलाई बोलाएर सोध्नुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसेको भन्दै एमालेले विरोध जनाएको छ ।
‘युद्धमा पनि जीउज्यान जोगाउनु मानवीय धर्म हुन्छ । तर, जयसिंह धामीको हत्या भएको छ । सीमामा यसरी नेपाली नागरिकको हत्या हुँदा पनि सरकार भारतीय राजदूतलाई बोलाउनुको सट्टा प्रशासनिक छानविन समिति बनाएर बसिरहेको छ,’ ठगुन्नाले भने ।
प्रतिक्रिया दिनुहोस्