
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा थुनुवा मृत फेला परेको घटनामा प्रहरी जवानलाई निलम्बन गरिएको छ । प्रहरी जवान जय प्रकाश यादवलाई निलम्बन गरिएको प्रदेश–२ प्रहरी कार्यालयका प्रवक्ता (एसपी) कृष्ण प्रसाईले बताए ।
लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रवार हिरासत कक्षको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।
प्रदेश–२ प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत डिएसपी मकेन्द्रकुमार मिश्रलाई त्यहाँबाट हटाएको छ । मिश्रलाई प्रदेश कार्यालयमा हाजिर हुने गरी बोलाइएको एसपी प्रसाईले बताए । डिएसपी मिश्रलाई बिलटु रविदासको मृत्यु प्रकरणमा नभएर अन्य कारणले प्रदेश कार्यालयमा बोलाएका एसपी प्रसाईले बताएका छन् ।
मिश्रको स्थानमा अस्थायी रूपमा दङ्गा प्रहरी नियन्त्रण गणका डिएसपी जितेन्द्र बस्नेतलाई खटाइएको छ ।
बिलटु रविदास भित्री गन्जीको पासो लगाएर झुन्डिएको अवस्थामा शौचालयमा फेला परेका थिए । त्यस दिन जवान जय प्रकाश यादव ड्युटीमा थिए । सो घटना छानबिनका लागी प्रदेश कार्यालयका एसएसपी महसुद आलम खाँको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
दाजुभाइको विवादमा ज्यान मार्ने तथा अङ्गभङ्ग मुद्दामा पक्राउ परेका रविदासलाई जिल्ला अदालतले २ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । तर, धरौटीबापतको रकम तिर्न परिवारले जोहो गरिरहेकै अवस्थामा उनी प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
प्रतिक्रिया दिनुहोस्