यसकारण देउवाले प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोजे, उच्च अधिकारीको पनि सरुवा

काठमाडौं । देशभित्र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् एवं प्रसारण लाइन आयोजनालाई समयमा पूरा गर्नेतर्फ ध्यान नदिइएको भन्दै सरकारले नेपाल विद्युत् प्राधिकरणको कामप्रति असन्तुष्टि व्यक्त गरेको छ ।

पछिल्लो समयमा बिजुलीको चुहावटमा वृद्धि भएको र त्यसलाई न्यून गर्नेतर्फ जुनस्तरमा पहल हुनुपर्ने थियो, त्यसोसमेत हुन नसकेको तथा व्यवस्थापकीय क्षमतासमेत प्रदर्शन गर्न प्राधिकरणको नेतृत्व चुकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बुझाइ छ ।

प्राधिकरणका कार्यकारी निर्देशक र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबीच हुने कार्यसम्पादन करार सम्झौतामा उल्लेख भएअनुसारको जिम्मेवारी पूरा नभएको भन्दै मन्त्रालयले चासो व्यक्त गरेको हो । झण्डै १५ प्रतिशतमा सीमित गर्ने भनिएको विद्युत् चुहावट बढेर १७ प्रतिशतको हाराहारीमा पुगेको छ ।
अधिकांश निर्माणाधीन प्रसारण लाइनको काम उस्तै हालतमा रहेको छ ।

देशभित्र उत्पादित बिजुली खपत गर्नेतर्फ ध्यान नदिई आयातमा मात्रै ध्यान दिइएको भन्दै मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग किन त्यस्तो भएको हो भन्नेबारेमा जानकारी लिएको थियो ।

शाक्यको कार्यमा सुधार नदेखिएपछि सोबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जानकारी गराएकी थिइन् । सोही अनुसार मन्त्री भुसालले शाक्यलाई प्रधानमन्त्री देउवा समक्ष राखेर राजीनामा दिन भनेका थिए ।

यसैबीच ऊर्जा मन्त्रालयले आजै केही उच्च पदस्थ कर्मचारीको सरुवा गरेको छ । मन्त्रिस्तरीय निर्णयका आधारमा सरुवा गरिएको मन्त्री भुसालको सचिवालयले जानकारी दिएको छ ।

विद्युत् विभागका महानिर्देशक नविन सिंहलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । यस्तै विभागमा सहसचिव सन्दीपकुमार देवलाई लगिएको छ । देव यसअघि जल तथा ऊर्जा आयोगमा कार्यरत थिए ।

सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीलाई सिँचाइतर्फको सहसचिवको जिम्मेवारी दिइएको छ । यस्तै, सुनकोशी मरिण डाइभर्सन आयोजनाको प्रमुख रहेका सुशील आचार्यलाई सिँचाइ विभागको जिम्मेवारी दिइएको छ ।

१९,श्रावण.२०७८,मंगलवार २२:०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्