माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै
वि.सं.२०७८ साउन २१ बिहीवार ११:३३
shares

काठमाडौ । काठमाडौ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।
आज वुद्धनगरस्थित क्वालिटी पार्टी प्यालेसमा स्थायी कमिटी बैठक बस्न लागेको हो।
स्थायी कमिटी बैठक बसेपछि आजै केन्द्रीय कमिटी बैठक बस्ने नेता रामकुमारी झाँक्रीले जानकारी दिइन्।
पछिल्लो राजनीतिक अवस्था र आगामी रणनीति तय गर्न नेपाल पक्षको स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक राखेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवालाई साउन ३ मा वरिष्ठ नेता नेपालसहित एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए। पछिल्लो समय एमालेको आन्तरिक एकताका प्रयास भइरहेका बेला नेपालले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
नेपाल पक्ष देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने भन्ने निर्णयमा पुगिसकेको छैन। यसबारे आज पनि छलफल हुने जनाइएको छ।
यसैबीच वरिष्ठ नेता नेपालले केन्द्रीय समिति बैठक बोलाएपछि अध्यक्ष केपी शर्मा ओली पक्षले भने उक्त बैठकमा सहभागी नहुन भनेका छन्।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर एमाले केन्द्रीय कमिटी बैठक नभएकोले सहभागी नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।





















