लुम्बिनीमा छिटै विद्युतीय बस सञ्चालन हुने, दुई महिनाभित्र २० बस ल्याइँदै

रुपन्देही । छिटै लुम्बिनीका नागरिकले नेपालमै बनेको विद्युतीय गाडी चढ्न पाइने भएको छ । सुन्दर यातायात प्रालिले नेपालमै विद्युतीय गाडी सञ्चालनका लागि धेरै प्रक्रिया पूरा गरिसकेको छ ।

तत्कालका लागि एसेम्बल र पाटपूर्जा निर्माणका लागि सैनामैना र बुटवलको मोतिपुरमा जग्गा व्यवस्थापन भइसकेको कम्पनीले जनाएको छ । यसका साथै कम्पनीले विद्युतीय गाडी संचालनका लागि अत्यावश्यक चार्जिङ्ग सेन्टर तथा विद्युत् व्यवस्थापनका लागि तीनै तहका सरकारसँग कानुनी प्रबन्ध मिलाइसकेको छ ।

विद्युतीय गाडी बनाएर संचालन गर्ने योजनाका साथ सुन्दर ट्रेडर्स प्रालिले शुरुमा ६ अर्बको लगानी गर्न लागेको हो । शुक्रबार प्रालिले गाडी उत्पादन गरिरहेको कम्पनी काशिस ई मोविलिटी प्रालि नयाँदिल्लीसँग विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सम्झौता गरेको छ ।

विश्वका २४ देशहरुमा विद्युतीय गाडी उत्पादन गरेको कम्पनीसँग सुन्दर यातायात प्रालिले सहकार्य गरेको हो । सुन्दरलाई काशिसले विद्युतीय सवारी साधनका पाटपूर्जाको आपूर्ति र प्राविधिक सहयोग गर्नेछ भने सुन्दर यातायातले सञ्चालनको जिम्मा लिएको छ ।

सम्झौतामा सुन्दर ट्रेडर्सको तर्फबाट अध्यक्ष भेषवहादुर थापा र काशिसको तर्फवाट प्रमुख कार्यकारी अधिकृत रवीकुमार पांगाले हस्ताक्षर गरेका छन् । नेपालमा पहिलोपटक विद्युतीय सार्वजनिक सवारी चलाउने संस्था सुन्दर ट्रेडर्सको भगिनी संस्था सुन्दर यातायात हो । जसले अहिले पनि संघीय राजधानीमा विद्युतीय सवारी चलाइरहेको छ ।

सुन्दर ट्रेडर्स प्रालिका संचालक डीआर घिमिरेले नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको वातावरणमैत्री विद्युतीय सवारी साधनहरु निकट भविष्यमै रुपन्देहीलगायत लुम्बिनी प्रदेशका शहरमा देख्न र प्रयोग गर्न सकिने अवस्था आउने बताए ।

चीनको सिचुवान गुहाङ अटोमोबाइल्स, बीएके कम्पनी र नेपालको सुन्दर अटो इन्जिनियरिङ प्रालिको सहकार्यमा नेपालमा विद्युतीय सवारीसाधन उत्पादन गर्न लागिएको हो ।

नेपालका मुख्य शहरहरुमा विद्युतीय सवारी साधन चलाउने गरी भएको सम्झौताअनुसार दुई वर्षमा पाँच सय साधनहरु चल्नेछन् । यसका साथै एक वर्षभित्र नेपाली ब्राण्डका विद्युतीय बसहरु वजारमा गुडाइने छ ।

काशिसले जर्मन प्रविधियुक्त युरा बस आपूर्ति गर्नेछ । त्यसरी ल्याइने साधनको भुक्तानी अवधि ८ वर्षको हुनेछ भने सोको ग्यारेन्टी नेपाल सरकार वा वित्तीय सस्थाले गर्नेछन् । सो समयभित्र रहने गरी प्रत्येक महिना किस्ताबापतको रकम भुक्तान हुँदै जाने कुरा सम्झौतामा उल्लेख छ ।

सम्झौता भएको ६० दिनभित्र २० वटा बस नेपाल आइपुग्नेछन् । पहिलोपटक ल्याइने वसहरु तयार भएका ल्याइने भएपनि बाँकी ८० वटा वसको चेसिस र थप ४ सय सैनामैनामै एसेम्वल भएका बसहरु उपलब्ध गराइने छ ।

गाडीहरुलाई चाहिने चार्जिङ्ग पोटहरु काशिसले नै उपलब्ध गराउनेछ । त्यस्तै जनशक्तिलाई चाहिने तालिम र प्राविधिक सहयोग पनि उसले उपलब्ध गराउने छ ।

सुन्दर ट्रेडर्सका अध्यक्ष भेषवहादुर थापाले दुई वर्षदेखि निरन्तर लागेपछि दुवै पक्ष एसेम्वल प्लान्ट राख्न सहमत भएको जानकारी गराउँदै कोरोनाका कारण ढिला भएपनि अवको एक वर्षभित्र नेपालवाटै उत्पादन हुने विश्वास व्यक्त गरे ।

एसेम्लब प्लान्टको डीपीआर ८० प्रतिशत तयार भइसकेकोले अब छिटै टेण्डर प्रक्रियामा जाने कुरा थापाले वताए । एसेम्लब प्लान्टमा पहिलो चरणमा तीन अर्ब ६० करोड रुपैयाँ लगानी गरिने छ भने दोश्रो चरणमा २ अर्व ४० करोड र पूर्ण रुपमा कम्पनी सञ्चालनमा आउँदा ८ अर्व ५० करोडदेखि ९ अर्बसम्म लगानी हुनेछ ।

त्यस्तै काशिस ई मोविलिटीका प्रमुख कार्यकारी अधिकृत रवीकुमार पांगाले दुई दिनसम्म नेपालका मन्त्री, सचिव तथा स्थानीय सरकारका प्रमुखहरुसंग भेट्दा आफूहरु अत्यन्तै उत्साहित भएको जानकारी गराउँदै विद्युतीय सवारी साधनहरु वातावरणमैत्री हुनुका साथै पेट्रोलियम पदार्थको आयातलाई घटाई आफ्नै देशमा उत्पादित विद्युत्को प्रयोगमा वढोत्तरी हुने विश्वास ब्यक्त गरे ।

यसअघि नै सैनामैना नगरपालिकामा करिब ९ विघा जग्गा लिजमा लिने सम्झौता गरिसकेको छ । परियोजना सञ्चालनमा आएपछि स्थानीय तहमा जनशक्ति उत्पादन गर्ने उद्देश्यले वर्षमा एक जना विद्यार्थीलाई अटो इन्जिनियरिङमा निःशुल्क उच्च शिक्षा प्रदान गर्न चीनमा पठाइने छ । त्यसबाहेक पनि छोटो अवधिको तालिम प्रदान गरेर जनशक्ति उत्पादन गर्दै लगिने छ ।

नेपाल सरकारले विद्युतीय गाडीलाई उच्च प्राथमिकता दिने नीतिअनुरुप चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधनको उपयोगलाई प्रोत्साहन गर्ने नीति लिनुका साथै २०८८ सालसम्म पेट्रोलियम पदायबवाट चल्ने हलुका सवारी साधनलाई विस्थापित गर्ने नीति लिएको छ ।

चीनबाट गाडीका पार्टपुर्जा ल्याएर नेपालमा एसेम्बल गर्दा एउटा बसमा कम्तिमा २० देखि २२ लाख रुपैयाँ सस्तो पर्ने, पार्टपुर्जा चाहिँदा विदेशको मुख ताक्नुपर्ने बाध्यताको अन्त्य हुने, पेट्रोलियम पदार्थको आयातमा कमी भइ व्यापार घाटामा कमी आउने, वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा पारेको प्रतिकूल प्रभाव नियन्त्रण गर्न र स्वच्छ एवं वातावरणमैत्री विकासलाई प्रवद्र्धन गर्न सघाउ पुग्ने र पर्याप्त रोजगारी सृजना हुने भएकोले यो परियोजना अत्यन्तै लाभग्राही रहेको विश्वास गरिएको छ । यस प्लान्टबाट करिव ३ सय जनाले रोजगारीको अवसर पाउनेछन् ।

२४,श्रावण.२०७८,आईतवार १२:५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्